मधेश प्रदेशका वित्तीय संस्थाबाट निक्षेपको दोब्बर कर्जा लगानी

0
Shares

मधेश प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्षेपको करिब दोब्बर कर्जा लगानी गरेको भेटिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार मधेश प्रदेशका बैंक तथा वित्तीय संस्थाले साढे २ खर्ब निक्षेप संकलन गरेर साढे ४ खर्ब कर्जा लगानी गरेको पाइएको हो ।

राष्ट्र बैंकका अनुसार मधेश प्रदेशमा वाणिज्य बैंकका ५७३, विकास बैंकका ८४, वित्त कम्पनीका ४६ र लघुवित्त वित्तीय संस्थाहरूको १ हजार ५८ शाखाहरू रहेका छन । ती शाखाहरुबाट चालु आर्थिक वर्षको पुसम्ममा २ खर्ब ६१ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८४ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.२४ प्रतिशतले बढेको थियो । गत आवको पुससम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप २ खर्ब ४७ अर्ब ९ करोड थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मधेश प्रदेशका बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा गत वर्षको सोही अवधिको तुलनामा ६.८० प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३७.२९ प्रतिशतले वृद्धि भई ४ खर्ब २४ अर्ब १४ करोड पुगेको थियो।

केन्द्रीय बैंकका अनुसार मधेश प्रदेशका उद्योगहरूको क्षमता उपयोग औसतमा ४४.५६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग ४९.९२ प्रतिशत थियो । उद्योगहरूको औसत क्षमता उपयोगमा ह्रास आउनुमा कच्चा पदार्थको अभाव तथा मूल्य अभिवृद्धिको कारणले गर्दा स्थानिय बस्तुको माग भन्दा आयातित बस्तुको माग बढी भई उद्योगहरूको क्षमता उपयोगमा कमी आएको हो ।

चालु आवको पुससम्ममा मदिरा उद्योगले सबैभन्दा बढी ९६.३२ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ भने वनस्पती घीउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम ३.८५ प्रतिशत रहेको देखिन्छ । वनस्पति घिउ उद्योगको क्षमता अति न्यून रहनुमा हालका दिनहरूमा वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु र यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै गएकाले उत्पादन क्षमतामा गिरावट आएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १.५० प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब १२ अर्ब ३४ करोड रहेको थियो । चालु आवको पुसम्ममा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ५९.९७ प्रतिशत र सबै भन्दा कम सप्तरी जिल्लामा २.३२ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।