मौद्रिक नीति पनि आर्थिक गतिविधि विस्तार गर्नेगरी आउँछ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि आर्थिक गतिविधि विस्तार गर्ने गरी आउने बताएका छन् । सांसदहरुलाई जवाफ दिँदै चालु आर्थिक वर्षमा जस्तो मौद्रिक नीतिका कारण आर्थिक गतिविधिमा सुस्तता नआउने उनले बताएका हुन् ।

चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुस्तता आउनुको मुख्य कारण भनेको कसिलो मौद्रिक नीति रहेको उनको बुझाई छ । आगामी आर्थिक वर्षमा राष्ट्र बैंकले आर्थिक गतिविधि बढाउने र निजी क्षेत्रको लगानी विस्तार हुने गरी मौद्रिक नीति ल्याउने आश्वासन पाएको उनले जानकारी दिए ।

संसदको अर्थसमितिमा सांसदहरुको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा राष्ट्र बैंकसँग छलफलमा रहेको बताए । “राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफ्नै सीमितता होलान्,” उनले भने, “आर्थिक गतिविधिलाई सुस्त बनाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति नल्याइने अश्वासन पाएको छु ।”

आगामी मौद्रिक नीतिले निजी क्षेत्रको लगानी विस्तार गर्ने खालको नीति अबलम्बन गर्दा बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल हुने उनले बताए । अहिले पनि अर्थतन्त्र २ प्रतिशतले भएपनि सकारात्मक भएको बताउँदै उनले भने, “सरकारले पुँजीगत खर्च बढाउँदा र मौद्रिक नीतिले निजी क्षेत्रतर्फको लागि बढाएको खण्डमा आर्थिक वृद्धिको लक्ष्य हाँसिल हुन्छ ।”

अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको अर्थमन्त्रीको दाबी छ । उनले अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको भएपनि जोखिममुक्त भने भइनसकेको बताए । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसारको कर संकलन नभएपनि गत वषको तुलनामा बढ्ने उनले बताए । चालु आर्थिक वर्ष आन्तरिक, भन्सार तथा गैर राजश्व बढेको जानकारी दिए ।

“आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ल्याएको हो,” मन्त्री महतले भने, “यसका लागि सबै पक्षले गम्भिर भएर लाग्नुपर्छ ।” अहिलेको अवस्थामा साधारण खर्च कसरी हुन्छ घटाउनुपर्ने उनले सुझाए । मन्त्री महतले अर्थसमितिलाई समेत बिहानमा बैठक राखेर खर्च बढाउन भन्दा दिउँसोमा राख्न सुझाए ।

अर्थसमिति सदस्य विराज भक्त श्रेष्ठले बैदेशिक सहयोगका लागि जे जस्ता शर्त पनि मानेर हस्ताक्षर गर्न अभ्यासको अन्त्य गर्न सुझाएका थिए । श्रेष्ठको सुझावमा अर्थमन्त्री महतले वैदेशिक सहयोग भन्दैमा जुनसुकै शर्त मानेर लिनु गलत भएको बताएका छन् । “देशको आवश्यकता अनुसार वैदेशिक सहयोग के आवश्यक छ र के छैन भन्ने निर्धारण गरेर मात्र लिनु उपयुक्त हुन्छ,” मन्त्री डा. महतले भने, “नेपालको सन्दर्भमा कन्जुर हुने शर्तहरुको विषयमा निर्णय लिने वा, कस्तो शर्तको वैदेशिक सहयोग लिने भन्ने निर्णय हुनुपर्ने देखिन्छ ।”

‘जो सम्पन्न र कर तिर्नुपर्ने स्थितिमा छन्, उनीहरुलाई करको दायरामा ल्याएका छौं’: अर्थमन्त्री

कस्तो खालको विदेशी सहयोग लिने निर्णय गरेर त्यसलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्नुपर्ने मन्त्री महतले बताए । उनले उत्पादनमुलक क्षेत्रमा परिचालन हुने सहुलियतपुर्ण वैदेशिक सहयोग लिनुपर्ने तर्क गरे । विदेशी सहयोग लिने भनेको भोलि तिर्नुपर्ने भएकाले आगामी दिनमा त्यसले थप असर गर्न नहुने उनको भनाइ छ ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको ब्यपार घाटा कम गर्ने प्रश्नमा मन्त्री महतले पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने बताएका छन् । कार्कीको विद्युतीय सवारी साधनको प्रयोग बढाई पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने सुझाउँदै आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्नुपर्ने उनको तर्क छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।