नेप्से ३९ अंकले घट्दा २०४९ बिन्दुमा झर्यो, दुई कम्पनीमा सकारात्मक सर्किट

0
Shares

सेयर बजार परिसूचक नेप्से बुधबार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा झरेको छ । असार १२ गते २१८६.३६ बिन्दुमा रहेको नेप्से त्यसयता १३६.९२ अंकले घटिसकेको छ ।

बुधबार २७७ स्क्रिप्टको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर ५३ हजार १०३ वटा संख्यामा खरिद हुँदा कारोबार रकम ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँमा समेटिएको छ । मंगलबार २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४९ करोड ७८ लाख रुपैयाँले घटेको हो ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहगत परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ भने जलविद्युत २.३३ प्रतिशत, लगानी २.१६ प्रतिशत, लघुवित्त २.१८ प्रतिशत, निर्जीवन बीमा २.७५ प्रतिशत र अन्य २.३७ प्रतिशतले घटेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमुलक, उत्पादन तथा प्रशोधनमुलक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

बुधबार नेप्से घटेपनि दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिटि होटल र आजैदेखि कारोबार सुरु भएको रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लागेको हो । सिटि होटलको सेयर प्रतिकित्ता ६१५ रुपैयाँ ६० पैसा पुगेको छ भने रावा इनर्जी डेभलपमेन्टको २७४ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै सिटिजन्स म्युचुअल फन्ड–२ को इकाईमूल्य ४.१७, प्रोगेशिभ फाइनान्स २.६७ र नेपाल फाइनान्सको सेयरमूल्य २.६६ प्रतिशतले बढेको छ ।

उता आजैदेखि कारोबारमा आएका मोदी इनर्र्जी र बिपिडब्लु लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मोदी इनर्र्जीको सेयरमा नकारात्मक सर्किट लागेर २४३ मा झरेको छ भने बिपिडब्लु लघुवित्तको पनि १३९ रुपैयाँ ९० पैसा घटेर १२५९ रुपैयाँ ५० पैसामा झरेको छ । यस्तै सिटिजन्स म्युचुअल फन्ड–१ को इकाईमूल्य ७.९९ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर ७.६९ प्रतिशत र सिवाईसी लघुवित्तको सेयरमूल्य ६.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ। सिमेन्टसको १६ करोड ४९ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९० लाख ८८ हजार, सोल्टी होटलको ९ करोड ५७ लाख ७४ हजार, स्वावलम्बन लघुवित्तको ८ करोड १४ लाख ७७ हजार र हिमालयन डिष्टिलरीको ७ करोड ६१ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भयो ।

बुधबारको सेयर कारोबारसँगै कुल बजार पुँजीकरण ३० खर्ब ९९ लाख रुपैयाँमा झरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।