अन्तर बैंकदर भन्दा रिभर्स रिपो रेट एक प्रतिशत बिन्दुले माथि

0
Shares

बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिए पनि अन्तर बैंकदर र रिभर्स रिपोको रेट बढेको छ । बैंकिङ प्रणालीमा निक्षेप थपिएसँगै अन्तर बैंकदर घटेपनि बैंक वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसकेपछि रिभर्स रिपोलाइ आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दा रेट बढेको हो ।

राष्ट्र बैंकका अनुसार मंगलबार २० अर्बको रिभर्स रिपो मार्फत बैंकिङ प्रणालीको तरलता प्रशोचन गरेको थियो । केन्द्रीय बैंकले २० अर्बको तरलता खिच्न बोलगर्दा २८ अर्ब ८० करोड रुपैयाँ बराबरको माग भएको थियो । केन्द्रीय बैंकले रिभर्स रिपोमा थोरै ब्याजदर माग गर्नेलाई प्राथमिकतामा राखेर तरलता प्रशोचन गर्छ । तर, बैंकहरुले लगानी नै गर्न नपाएको अवस्थामा रिभर्स रिपोलाई आम्दानीको माध्यम बनाएको स्पष्ट हुन्छ ।

केन्द्रीय बैंकका अनुसार सोमबार ३.१६ प्रतिशत रहेको अन्तर बैंक दर मंगलबार ४.१४ पुगेको छ । मंगलबार केन्द्रीय बैंकले अन्तर बैंक दरलाई ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलनको ब्याजदर भन्दा तल झर्न नदिन तरलता प्रशोचन गरेको थियो । केन्द्रीय बैंकले बैंकिङ प्रणालीको २० अर्ब तरलता प्रशोचन गरेसँगै अन्तर बैंक दर केही बढेको हो ।

बैंकहरुमा कर्जा माग नभएपछि निक्षेप थपिएसँगै अधिक तरलता हुने गरेको छ । गत चैतदेखि केन्द्रीय बैंकले असार १९ गतेसम्ममा ४ पटक कुल ५५ अर्बको रिभर्स रिपो जारी गरेको छ । उक्त रिपोमार्फत चैतदेखि हालसम्म केन्द्रीय बैंकले ४८ अर्ब २० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

गत चैत १० गते जारी गरेको ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि १५ अर्ब ६० करोडको माग भएका थियो । उक्त रिभर्स रिपोको रेट अधिकतम ४.४६० प्रतिशत रहेको थियो भने न्यूनतम ४.२४० रहेको थियो । यसको औसत ब्याजदर ४.३२९० प्रतिशत कायम भएको थियो । तर, त्यसपछि २०८० असार ७ गते निष्कासन भएको रिपोको औसत ब्याजदर घटेर ३.०१०९ प्रतिशतमा झरेको छ । असार ९ गतेको रिभर्स रिपोमा पुनः बढेर ४.२७५३ पुगेको औसत रिभर्स रिपो रेट मंगलबार झनै बढेर ५.०५९१ प्रतिशतमा पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले अल्पकालिन ब्याजदरलाई नियमति बनाउन तथा तरलता व्यवस्थापन गर्न रिभर्स रिपो निष्कासन गर्छ । रिभर्स रिपो मार्फत अन्तर बैंक दर नीगित दर भन्दा २ प्रतिशत बिन्दु भन्दा धेरैले घट्न वा बढ्न नदिने काम गर्छ । केन्द्रीय बैंकले अन्तर बैंक दर नीतिगत दर ७ प्रतिशत भन्दा २ प्रतिशत विन्दु भन्दा धेरै बढेमा वा रिपो जारी गर्छ भने सोही अनुसार घटेमा रिभर्स रिपो जारी गर्छ ।

केन्द्रीय बैंकले रिपो जारी गर्दा बैंक तथा वित्तीय संस्थासँग ब्याजदर लिन्छ भने रिभर्स रिपो जारी गर्दा आवेदकलाई ब्याज दिन्छ । रिपोमा बढी हुनेले प्राथमिकता पाउँछ भने रिभर्स रिपोमा कम ब्याजदर बोल गर्ने प्राथमिकतामा पर्छ ।  यसरी अन्तर बैंक दर भन्दा रिभर्स रिपोको रेट धेरै अन्तर बैंक सापटीबाट रिभर्स रिपोमा लगानी गर्न सक्ने जोखिम रहने राष्ट्र बैंकका एक अधिकारीले बताए । तर, धेरै प्रतिफल आउने रिभर्स रिपोर्ट छोडेर अन्तर बैंकमा लगानी गर्ने अवस्था बैंक वित्तीय संस्थाको नहुने उनको तर्क छ । केन्द्रीय बैंकको नियमित नियमन तथा सम्बन्धित संस्थाको लगानी व्यवस्थापन विभागले पनि धेरै आम्दानी छोडेर थोरैका लगानी गर्ने अवस्था नहुने उनको भनाई छ ।

मंगलबारको रिभर्स रिपोमा परेको आवेदन हेर्दा अधिक तरलता अझै केही समय रहने देखिएको छ ।  रेमिट्यान्स आप्रवाहमा देखिएको निरन्तरको सुधार तथा कर्जा प्रवाहको दरमा आएको कमीले वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति आएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत ब्याजदरभन्दा २ प्रतिशत विन्दुले अन्तरबैंक ब्याजदर तल माथि हुँदा रिपो तथा रिभर्स रिपो मार्फत तरलता बैकिङ प्रणालीमा पठाउने र खिच्ने बताएको थियो ।

नीतिगत ब्याजदर ७ प्रतशत रहेको अवस्थामा अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्नुपर्नेमा ४ प्रतिशतबाट पनि तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिचेको हो । त्यसैले रिभर्स रिपोमा ब्याजदर जति कम कायम भयो, बैंकहरुसँग उति बढी तरलता रहेको मानिन्छ ।

बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अस्वभाविक उतार–चढाव आउने जोखिम हुन्छ । वित्तीय प्रणालीमा देखिएको उच्च तरलताले आगामी दिनमा बैंक वित्तीय संस्थाको ब्याजदर अझै घट्नसक्ने देखिन्छ । तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।