अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल उकास्नुपर्छः परिसंघ अध्यक्ष अग्रवाल

0
Shares

नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बताएका छन् ।

नवनिर्वाचित सीएनआई पदाधिकारी र मुख्य सचिव डा. बैकुण्ठ अर्यालबीच बुधबार भएको छलफलमा उनले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष अग्रवालले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सार्वजनिक निजी साँझेदारीमा नयाँ औद्योगिक क्षेत्र अगाडि बढाउनुपर्ने, जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने बताए । उनले स्वदेशी वस्तुहरुको प्रवद्र्धनका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गराउन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा सीप विकासलाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे । साथै उनले उधारो उठाउने ऐन, अग्रिम जमानत कानूनको आवश्यकता औंल्याए ।

सो अवसरमा मुख्य सचिव अर्यालले परिसंघले उठाएका विषयहरुको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने बताएका थिए । उनले परिसंघले अर्थतन्त्रका लागि महत्वपूर्ण नीतिगत सुझावहरु दिदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत प्राप्त भईरहने विश्वास व्यक्त गरे। उनले परिसंघको नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

सो छलफलमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्यहरु गोकुल भण्डारी, छायाँ शर्मा, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।