अनुदानले उद्यमी बन्दै किसान

0
Shares

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन् ।

कूल लगानीको २० प्रतिशत सहकारी/समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी बन्दै भएका हुन् ।

भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत एक वर्षअघिबाट एनएलएस आइपीको उपआयोजनाअन्तर्गत नमूना दूध तथा दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधिकरण एवं बजारीकरण संस्थाको स्थापना गरी आफैँ उद्यमी बनेको छ । यो संस्था २०५२ सालमा स्थापना भएर दूध सङ्कलन गरेर निजी दुग्ध उद्योगलाई बिक्री वितरण गर्दै आएको थियो ।

एक करोड ७७ लाखको लागत रहेको उक्त उद्योगले हाल दैनिक तीन हजार लिटर दूध सङ्कलन गर्दै आएको छ । संस्थाले दूध प्रशोधन गरेर बजारीकरण गर्दै आएको छ । जसबाट प्रत्यक्षरुपमा २०५ जना सेयर सदस्य लाभान्वित भएका छन् । संस्थाले उद्योगबाट दूध दही, पनिर र नौनी बनाएर बजारमा बिक्री वितरण गर्दै आएको छ । सहकारीले दूधको उचित मूल्य दिएपछि किसान पशुपालन व्यवसायमा आकर्षित भएको संस्थाका व्यवस्थापक जनार्धन पौडेलले जानकारी दिए ।

एनएलएस आइपीको उपआयोजना लागू भएपछि विगतमा खासै व्यावसायिक नभएको देवनगर दुग्ध उत्पादक सहकारी संस्था हाल दुग्ध उद्योग स्थापना भएपछि कृषकलाई व्यावसायिक मार्गमा ल्याउन सफल भएको संस्थाका व्यवस्थापक पौडेल बताउँछन् ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट नगरपालिका–११ मा रहेको मुकुन्दपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले हाल आफ्ना किसानका लागि गाईभैँसीलाई चाहिने दाना आफैँ उत्पादन गर्दै आएको छ । विगतमा बाहिरबाट दाना किनेर बस्तुलाई खुवाउँदा उत्पादनमा कमी हुने तथा रोगले सताउने गरेको र हाल आफ्नै दाना उद्योग भएपछि उत्पादन बढेको यहाँका किसान बताउँछन् । एनएलएस आइपीको अनुदानका आफ्नै ठाउँमा दाना उद्योग खुलेपछि किसानलाई दानामा सहजता मिलेको हो ।

मुकुन्दपुरका किसान लक्ष्मण आचार्य सहकारी मार्फत गाउँमै दाना उद्योग खुलेपछि किसानलाई सहजता मिलेको बताउनुहुन्छ । पहिले गाईलाई खुवाउने बजारको दाना र हाल सहकारीले उत्पादन गरेको दानामा निकै फरक भएको भन्दै उनले अहिलेको दानामा पौष्टिकतत्व बढी र दूध उत्पादन धेरै भएको बताए । देशमै केही गरौँ भनेर गाईपालन गर्नुभएका आचार्य सहकारीमार्फत दाना उद्योग खुलेपछि व्यवसायमा थप हौसिएका छन् ।

हाल ४० गाईभैँसी पाल्दै आउनुभएका गैँडाकोट–१३ का नारायण पौडेलले सहकारी मार्फत दाना पाएपछि निकै सुविधा मिलेको बताउँछन् । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सञ्चालित मुकुन्दसेन दाना उद्योगका अध्यक्ष गोपाल श्रेष्ठ पशु आहार व्यवस्थापनका लागि एनएलएस आइपीको कार्यक्रम अनुसार अनुदान पाएपछि उद्योग खोल्न सफल भएको बताउँछन् । संस्थाको उद्देश्यअनुसार दाना उत्पादन गर्दै आएको बताउँदै उनले हाल प्लेट दाना र धुलो दाना उत्पादन भएको जानकारी दिए । दाना उद्योग परीक्षणकै क्रममा रहेको अवस्था भए पनि उत्पादनमा सफलता मिलेको अध्यक्ष श्रेष्ठको भनाइ छ । हाल मासिक ९० टन दाना उत्पादन हुने गरेको उद्योगको आफ्ना किसानलाई वितरण गरी थप दानाको बजारीकरण गर्दै लक्ष्य रहेको छ । दाना उत्पादनमा कच्चा पदार्थको अभाव भने हुने गरेको बताउँदै श्रेष्ठले नेपालमै भएका कच्चा पदार्थ उपयोग गर्न पाएका अझ प्रभावकारीे रुपमा दाना उत्पादन गर्न सकिने बताए ।

रत्ननगर नगरपालिका–१२ मा भैँसी तथा गाईपालन गर्दै आएका दिनेश खतिवडा आफ्नै देशमा श्रम र पसिना बगाउँ भन्ने धारणका साथमा विगत आठ वर्षदेखि यो व्यवसाय गर्र्दै आएका छन् । विगतमा आफ्नै तरिकाले पशुपालन गर्दै आएका खतिवडाले एनएलएस आइपीको उपआयोजना लागू भएपछि हाल दैनिक ४०० लिटर दूध उत्पादन गरेका छन् । पशुपालन गर्दा ब्रिड पहिचान गरी बढी उत्पादन लिन सकिने उनको अनुभव छ । एनएलएस आइपी आयोजना काम गर्ने किसानका लागि मात्र भएको खतिवडाको बुझाइ छ । यो कुरा आफूले काम गर्दै गर्दा बुझेको उनी बताउँछन् । एनएलएस आइपीको अनुदान लिएपछि उनले भकारो सुधार, ब्रिड तथा नश्ल सुधार, साइलेज निर्माण तथा भण्डारणजस्ता काम गरेका छन् । विगतमा अन्य उद्योग सञ्चालन गरेर लगानी पनि नउठेको अवस्थामा हाल विकल्प खोज्दै जाँदा कृषि व्यवसायमा हात हालेको चितवन माडीका विणुप्रसाद पङ्गेनी बताउँछन् । हाल उन्नत जातका बाख्रापालन गर्दै आएका उनी मासु उत्पादनमा केही योगदान दिन्छु भन्ने उद्देश्यका साथमा बाख्रापालनमा लागेका हुन् ।

सुरुका दिनमा सात-आठ बाख्राबाट सुरु गर्नुभएका उनले एनएलएस आइपीसँग जोडिन पुगेपछि दुई सयको हाराहारीमा बाख्रापालन गर्दै आएका छन् । उनको बाख्रापालनमा हाल २५ लाख लगानी पुगेको छ । पङ्गेनी भने, “एनएलएसआइपीका सरहरुले सिकाउँदा अहिले केही होलाजस्तो भएको छ यसरी गर्दा राम्रो हुने रहेछ पहिला आफ्नै ढङ्गबाट गरिन्थ्यो”, आयोजनासँग जोडिएपछि पहिला वार्षिक १ देखि साढे १ लाख आम्दानी गर्ने उनको आम्दानीको लक्ष्य वार्षिक १२ पन्ध्र लाख रहेको छ ।

विश्व बैंकको ऋण सहयोगमा आव २०७४-७५ देखि कार्यान्वयनमा आएकोे नेपाल लाइभ स्टक सेक्टर इनोभेसन (एनएलएसआइपी) आयोजना आव २०८०÷८१ मा सम्पन्न हुँदैछ । आयोजना सम्पन्न भएपछि यसअन्तर्गतका उपआयोजना स्थानीय सरकारको जिम्मामा हुनेछ । यस आयोजनाले कृषकलाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।