साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार आजदेखि १५ दिनका लागि रोक्का

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज (असार २४ गते आइतवार) देखि रोक्का भएको छ ।

मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरू गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत दुबै कम्पनीको सेयर कारोबार बढीमा १५ कारोबार दिनका लागि रोक्का गरेको हो । मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था अनुसार एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र सेयर कारोबार रोक्का राख्न सकिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम नेप्सेले कारोबार रोक्का गरेको हो ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त १ बराबर ०.८७ को सेयर आदान प्रदान अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि आजदेखि ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

एकीकृत साना किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक र प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन् । संस्थाको सञ्चालक समितिमा दुवै तर्फका तीन–तीन जना रहनेछन् ।

मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड हुने छ । यस्तै लगानी ४१ अर्ब ८६ करोड हुनेछ । हाल साना किसानले १ हजार ३ सय र आरएमडीसीका ३ सय भन्दा बढी संस्था प्रवर्धन गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।