पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर


नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । पिँडालु खेतीबाट नै उनीले आफ्नो घरखर्च धानेकी छन् । उनीले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गरेकी छ ।

यस क्षेत्रमा सिँचाइको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो नहुने हुँदा यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताइन् । यस्तै अर्का किसान पूर्णमाया तामाङले पनि विगत १४ वर्षदेखि पिँडालु खेती गर्दै आएको छ । उनीले अहिले १० कट्ठा क्षेत्रफलमा हात्ती पाउ पिँडालु लगाएको छ ।

“केही वर्ष पहिले बजारको पहुँच राम्रो नहुँदा पिँडालुसँग धान साटेर ल्याउने गरिन्थ्यो”, उनले भने, “अहिले बजारीकरण भएसँगै पिँडालु बिक्री गर्नमा कुनै समस्या छैन, विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।” पछिल्ला वर्षमा पिँडालु खेतीबाट नै एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कृषको भनाइ छ । पिँडालु खेतीले यहाँको समुदायलाई समूहिकरुपमा काम गर्ने परम्पराको विकाससमेत गरेको कृषक सम्झना तामाङले जनाइन् ।

“जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गरेका छौँ”, उनले भनी, “सबै घरका मिलेर सामूहिकरुपमा अर्मपर्म गरेर काम गर्दा सहज हुने गरेको छ ।” यस क्षेत्रका २५ घरधुरी परिवार अहिले पिँडालु खेतीमा नै आत्मनिर्भर रहेका छन् । तामाङ टोलमा एउटै परिवारले वार्षिक ५० क्विन्टलभन्दा धेरै पिँडालु उत्पादन गर्दै आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनाइन् ।

“हुप्सेकोट गाउँपालिका क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा परिचित छ”, उनले भने, “यहाँको तरुलसँगै पिँडालुको पनि बजारमा धेरै माग देखिएको छ ।” गाउँपालिकाले कृषकलाई आवश्यक कृषि सामग्री, मल, बीउ वितरण र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।