प्रभु बैंकको बट्टार शाखाद्वारा किसानलाई सहुलियतपूर्ण ऋण, ७ उद्यमीलाई ४० लाखको चेक

0
Shares

प्रभु बैंकले नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशीला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।

बैंक र हेफर इन्टरनेसनल नेपालबीच गत वर्ष साउन ५ गते भएको सम्झौता अनुरुप युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो ।

सोही अनुसार नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेसनलका सहनिर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोबल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रो फाइनान्स विभाग प्रमुख प्रवीनकुमार दाहालले संयुक्त रुपमा पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशीलतामा काम गरिरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यालयबाट ४० लाख रुपैयाँको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेजबहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठूलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रहसमेत गरे ।

उक्त सम्झौताअनुरुप हेफर इन्टरनेसनल नेपालका तर्फबाट प्रबद्भित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन इच्छुक उद्यमीहरूको पहिचान गरी कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरी स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य व्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजीकरण गर्ने छ ।

हेफरले ४४ जिल्लाका करिब ४० लाख पिछडिएका गरिब परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संथाले हालसम्म २ सय ७० सामाजिक उद्यमी महिला सहकारीमार्फत वित्तीय पहुँच पुर्याउन सहजीकरण गर्दै आएको छ ।

बैंकको आफ्नो ६८ जिल्लामा रहेका ३ सय २ शाखा कार्यालय ७१ एक्स्टेन्सन काउन्टर तथा ३ सय १० एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।