बैंकहरुको निक्षेप जेठसम्म ८.८० र निजी क्षेत्रमा कर्जा लगानी ३.४० प्रतिशतले बढ्यो

0
Shares

चालू आर्थिक वर्षको एघार महीनामा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि भएको छ । राष्ट्र बैंकले तयार पारेको ११ महिनाको वित्तीय रिपोर्ट अनुसार बैंकहरुको निक्षेप ८.८ प्रतिशतले वृद्धि भएको हो ।

रिर्पोटका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि हुँदा निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँले वृद्धि भएको छ । जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब २७ अर्ब ८९ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.७० प्रतिशत अर्थात २ खर्ब ६६ अर्ब रुपैयाँले बढेको थियो । सो समयमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५० खर्ब ८२ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२० प्रतिशत अर्थात ५ खर्ब ९९ अर्ब १६ करोड ४८ लाख रुपैयाँले बढेको छ । २०७९ जेठ मसान्तसमा तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ खर्ब २८ अर्ब ७३ करोड ३ लाख रुपैयाँ रहेकोमा २०८० जेठ मसान्तमा ५५ खर्ब २७ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

तथ्याङ्क अनुसार २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा मुद्दती निक्षेपको अंशको सबैभन्दा धेरै ५९.८० प्रतिशत अर्थात ३३ खर्ब ५ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ रहेको छ । यस्तै बचतको अंश २५.६० प्रतिशत अर्थात १४ खर्ब १५ अर्ब ६० करोड ८५ लाख रुपैयाँ र चल्तीको अंश ७.९० प्रतिशत अर्थात ४ खर्ब ३७ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ छ ।

अघिल्लो वर्ष मुद्दती निक्षेपको अंश ५७.१० प्रतिशत (२८ खर्ब १३ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ), बचतको अंश २७.१० प्रतिशत (१३ खर्ब ३६ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ) र चल्तीको अंश ८.८० प्रतिशत (४ खर्ब ३३ अर्ब ९५ करोड ६८ लाख रुपैयाँ) रहेको थियो ।

विसं २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७० प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८.६० प्रतिशत रहेको थियो ।

समग्र कर्जा लगानी ३.४ प्रतिशत बढेपनि ओभर ड्राफ्ट, सेयर धितोकर्जा र सवारी कर्जामा उच्च गिरावट

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा लगानी ३.४० प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५० प्रतिशत अर्थात ५ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँले वृद्धि भएको थियो ।

जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५८ अर्ब ८ करोड २१ लाख रुपैयाँ कुल कर्जा लगानी गरेका छन् । विसं २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वार्षिक बिन्दुगत आधारमा ३.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा समग्र कर्जा बढेपनि ओभर ड्राफ्ट, सेयर धितोकर्जा र सवारी कर्जामा भने उच्च गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।

विसं २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३० प्रतिशत र ३६.७० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२० प्रतिशतले, विकास बैंकहरुको ६.० प्रतिशतले र वित्त कम्पनीहरूको ०.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

विसं २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये घरजग्गा धितो सुरक्षणको रुपमा ६८ प्रतिशत (३३ खर्ब ३ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ) रहेको छ । यस्तै चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा ११.६० प्रतिशत (५ खर्ब ६५ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ) कर्जाको लागि रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३० प्रतिशत र ६६.८० प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.६ प्रतिशत (२५ अर्ब ५७ करोड ९ लाख रुपैयाँ) ले बढेर ४ खर्ब १३ अर्ब ७९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस्तै औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४० प्रतिशत (५८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ) ले बढेर ७ खर्ब ५३ अर्ब २९ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यस्तै खानी उद्योगतर्फ २५.९० प्रतिशत (२ अर्ब २७ करोड ७१ लाख रुपैयाँ) ले बढेर ११ अर्ब ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी जेठ मसान्तसम्म निर्माण क्षेत्रतर्फको कर्जा ७.६० प्रतिशतले (१४ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ) ले बढेर ले बढेर २ खर्ब ४ अर्ब ६९ करोड १५ लाख रुपैयाँ पुगेको छ । यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७० प्रतिशत (४८ अर्ब ७९ करोड ९ लाख रुपैयाँ) ले बढेर ३ खर्ब ४० अर्ब ९४ करोड १ लाख रुपैयाँ कायम भएको छ । यसैगरी थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४ प्रतिशत (३७ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ) ले बढेर ९ खर्ब ८५ अर्ब ४३ करोड १९ लाख रुपैयाँ, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशत (१२ अर्ब ९५ करोड ३ लाख रुपैयाँ) ले बढेर ४ खर्ब ६ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७० प्रतिशत (५८ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ) ले बढेर ९ खर्ब २५ अर्ब ९२ करोड ८८ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३.४० प्रतिशत (२ खर्ब ७९ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ) ले बढेर १४ खर्ब ७६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यसैगरी रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२० प्रतिशत (२९ अर्ब ४३ करोड ३ लाख रुपैयाँ) ले बढेर ५ खर्ब ९५ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ र ट्रष्ट रिसिट (आयात) कर्जा ७.३० प्रतिशत (५ अर्ब ७३ करोड १० लाख रुपैयाँ) ले बढेर ८४ अर्ब १६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा अधिविकर्ष कर्जा (ओभर ड्राफ्ट) ६७.६० प्रतिशत (४ खर्ब ८६ अर्ब १८ करोड १० लाख रुपैयाँ) ले घटेर २ खर्ब ३२ अर्ब ६१ करोड ५ लाख रुपैयाँमा झरेको छ । पछिल्लो वर्षको कर्जाको पुनः वर्गीकरणको कारणले ओभर ड्राफ्ट कर्जामा उच्च गिरावट आएको हो । यस्तै मार्जिन प्रकृतिको कर्जा ७.२० प्रतिशत (५ अर्ब ८० करोड ८५ लाख रुपैयाँ) ले घटेर ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँमा झरेको छ । यस्तै हायर पर्चेज कर्जा १३ प्रतिशत (२० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ) ले घटेर १ खर्ब ३६ अर्ब ७० करोड ८२ लाख रुपैयाँमा संकुचित बनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।