माथिल्लो मैलुङ खोलाले साउन ४ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्दै

0
Shares

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि पहिलो चरणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा सेयर जारी गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १० लाख साधारण सेयर निष्काशन गर्नेछ ।

जसमध्ये ५ लाख ७१ हजार ४३० कित्ता अति प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नम्बर ९ का बासिन्दालाई र २ लाख ८५ हजार ७२० कित्ता आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नम्बर २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मा बसोबास गर्नेहरुका लागि बिक्री खुला हुनेछ । यस्तै रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर छुट्टाइएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि सर्वसाधारण लगानीकर्ताहरुका छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कहाँबाट कति दिने आवेदन ?

कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल, आयोजना स्थल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १८ गतेभित्र आवेदन दिनुपर्नेछ भने आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका हकमा साउन १८ गतेभित्र आवश्यक आवेदन नपरेको खण्डमा भदौ १ गतेसम्म निष्कासन खुला रहनेछ ।

औषत जोखिम रेटिङ्ग

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ निष्काशनको रेटिङ्ग गरेको केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत जनाउने रेटिङ्ग दिएको छ ।

केयरले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको हो । यो रेटिङ प्राप्त कम्पनीहरुमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत जोखिममा रहेको जनाउँदछ ।

प्रतिमेगावाट लागत साढे १७ करोड

माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ । कम्पनीले प्रवद्र्धन गरिरहेको १४.३ मेगावाटको उक्त आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुन ९ वर्ष १० महीना र डिस्काउण्टमा लगानी फिर्ता हुन १२.७६ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।
आयोजनाले आगामी साउन १५ गतेदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।