भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले सवा १ अर्ब सहयोग गर्ने, सम्झौता सम्पन्न

0
Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा १५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (१ अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ । आगामी पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको सो परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवं समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमि नगपालिका र उक्त अस्पतालले संयुक्त रहने भएको छ ।

सम्झौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा १५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने यस साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे । यो परियोजनालाई सफलरूपमा कार्यान्वयनमा ल्याउन सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताए । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५० औंं वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उनको भनाई थियो ।

अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गरे । यस्तै कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताए । यस अस्पतालको दोस्रो चरणको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिक रूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पु¥याइने जानकारी उनले दिए ।

सो परियोजनाअन्तर्गत गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्र सुधारका लागि पूर्वाधार तयार गर्ने तथा कर्मचारीको क्षमता अभिवृद्धि गरिने जनाइएको छ ।

त्यसअवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोइका र उक्त अस्पतालका प्रतिनिधिको उपस्थिति थियो ।-रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।