बुधबार नेप्सेमा बजार खुलेको २० मिनेटसम्म किन हुन सकेन सेयर कारोबार ? वाईकोले जे चाह्यो, नेप्सेले बुझ्छ उही


नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को अनलाइन कारोबार प्रणाली (नट्स्) मा समस्या आएका कारण बुधबार बिहान सेयर कारोबार प्रभावित भएको छ । मंगलबार साँझ नै प्रणालीमा समस्या देखिँदा कारोबार तथ्यांकहरु अवास्तविक देखाएको प्रणाली बुधबार बिहानसम्म समस्यामा थियो ।

नट्सको म्याच इञ्जिनमा समस्या आएका कारण लगानीकर्ताले बुधबार बिहान ११ मिनेटसम्म सेयर किनबेच नै गर्न पाएनन् । बजार खुलेको २० मिनेट अवधिमा नेपाल टेलिकम, मन्जुश्री फाइनान्स, गुर्खाज फाइनान्स, जानकी फाइनान्स लगायतका केही कम्पनीको सेयर सिमित संख्यामा मात्र कारोबार हुन सक्यो ।

आखिर किन भयो यस्तो ? नट्समा ५ वटा म्याच इञ्जिनको सहायताले सेयर खरिद र बिक्री गर्नेहरुको सम्पर्क स्थापित गर्ने गरेको छ । तर बुधबार बिहान बजार खुलेको १० मिनेट हाराहारीमा ५ मध्ये २ वटा म्याच इञ्जिनले मात्र आंशिक रुपमा काम गरेका थिए भने ३ वटा म्याच इञ्जिनले काम गरेको थिएन ।

बुधबार बिहान नेपाल टेलिकमको पहिलो ८ वटा कारोबारलाई म्याच इञ्जिन ५ ले कारोबार गराएको थियो । अन्य कम्पनीको सेयरलाई उक्त म्याच इञ्जिनले पनि कारोबार गराउन सकेको थिएन । बजार खुलेको झण्डै ७ मिनेटसम्म इञ्जिन ५ ले टेलिकमको ८ वटा मात्र कारोबार गराएकोमा त्यस पछि ३ नम्बर इञ्जिनले मन्जुश्री फाइनान्सको पहिलो सेयर कारोबार गराएको थियो । सो पश्चात ३ नम्बर इन्जिनले जानकी फाइनान्स, गुर्खाज फाइनान्स, समृद्धि फाइनान्स लगायत कम्पनीको सिमित संख्याको कारोबार मात्र गराएको थियो ।

उल्लेखित कम्पनीको सेयर सिमित संख्यामा कारोबार भईरहँदा आम लगानीकर्ता भने सेयर खरिद बिक्रीको आदेश दिनबाट बञ्चित भए । सामाजिक सञ्जालमा तत्कालै सेयर लगानीकर्ताहरुले कारोबार प्रणालीमा के भएको हो कारोबार गर्न सकिएन भन्दै जिज्ञासा राख्न सुरु गरेका थिए ।

उता बजार खुलेको २० मिनेटभन्दा बढी समय पछि मात्र कारोबार सामान्य अवस्थामा आएको महसुस सेयर दलाल व्यवसायीहरुले गरेका छन् । बुधबार देखिएको समस्या दलाल व्यवसायीको प्रणालीमा नभई नट्सतर्फ भएको भन्दै प्रणाली सुधारका लागि उनीहरुले नेप्से तथा नेप्सेको भेण्डर कम्पनी वाइको सोलुसनको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले समस्या के कस्तो हो र त्यसको असर के पर्न सक्छ भन्ने जानकारी दिएर कारोबारलाई सहजीकरण गर्न पनि आग्रह गरेका छन् ।

बजार खुलेको १० मिनेटसम्म नट्सको १,२ र ४ म्याच इञ्जिनले पनि पूणर् रुपमा कारोबार गराउन सकेको थिएन । बजार खुलेको झण्डै १३ मिनेट पछि १ म्याच इञ्जिनले पहिलो पटक शिवम् सिमेन्टको १० कित्ता सेयर कारोबार गराएको थियो । यस बेला सम्म ३ र ५ इन्जिनले आंशिक रुपमा केही कम्पनीको मात्र सेयर कारोबार गराएका थिए ।

बजार खुलेको झण्डै १५ मिनेट पछि ४ इञ्जिनले पहिलो पटक लिबर्टी इनर्जीको १० कित्ता सेयर कारोबार गराएको थियो । बजार खुलेको झण्डै डेढ घण्टा बित्दासम्म नट्सको २ म्याच इञ्जिन सञ्चालन हुन सकेको थिएन । ४ वटा इञ्जिनले मात्र बुधबार सेयर कारेबार आंशिक रुपमा गराईरहेका छन् ।

नेप्सेको भेण्डर कम्पनी वाइको सोलुसनले अनलाइन कारोबार प्रणालीमा देखिएका यस्ता समस्याको तत्काल समाधान नगर्दा लगानीकर्ता र दलाल व्यवासइहरु अन्यौलमा परेका थिए । बुधबार बिहान बजारमा पहिलो १५ मिनेट कारोबार ठप्प भएको जिम्मेवारी कसले लिने भन्ने सम्बन्धमा वाइको र नेप्सेले लगानीकर्ता, ब्रोकर र नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई तथ्यपरक जानकारी दिनुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको विकास एवं मर्मत सम्भार र सञ्चालन गर्दै आएको वाइको सोलुसनले बुधबार देखिएको समस्यालाई सामान्य रुपमा लिएको छ । बजार १५ मिनेटसम्म ठप्प भएको विषयलाई वाइकोका अमृत आचार्यले नट्स र टीएमएसका बिचमा फाइल ट्रान्सफर गर्दा समस्या देखिएको भन्ने सामान्य प्रतिकृया दिएका छन् । १० मिनेटमा बजार पूणर् रुपमा सञ्चालनमा आएको दाबी गरेका उनले नेप्सेसँगको संवादमा सबै समस्या समाधान भईसकेको जानकारी गराएको नोटबजारलाई बताए । यद्यपी नेप्सेका केही कर्मचारी तथा सेयर दलाल व्यवसायीहरु भने अझै प्रणालीमा तथ्यांकहरु उल्टो पाल्टो भएको भन्दै अलमलमा परेका छन् ।

बुधबार बिहान देखिएको समस्यालाई नेप्सेले पनि सामान्य रुपमा लिएको छ । उसले अहिलेसम्म बजार सञ्चालनका सम्बन्धमा उत्पान्न समस्याका बारेमा लगानीकर्तालाई जानकारी दिने कुनै सन्देश प्रवाह गरेको छैन । वाइकोले पनि कारोबार प्रणालीमा यस्तो सन्देश सार्वजनिक गरेको छैन ।

नेप्से प्रवक्ता मुराहरी पराजुलीले ब्रोकरको टिएमएसबाट नट्समा अर्डर नआउँदा बुधबार बिहानको प्रि आपन सेसनमा समस्या आएको र समस्या समाधान भईसकेको जानकारी दिए । के कारणले समस्या आएको हो भन्ने सम्बन्धमा अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।

नेप्सेको सम्पत्ती अनलाइन कारोबार प्रणालीमा उत्पन्न समस्या र समाधानमा भएका कामका सम्बन्धमा गहिराईमा नेप्सेलाई नै जानकारी नहुँदा नेप्सेले यस्ता विषयमा लगानीकर्ता र ब्रोकरलाई जानकारी गराउन सकिरहेको छैन । बुधबारको समस्या मात्र नभई अन्य समयमा आउने सबै समस्या र समाधानमा भएका कामको प्राविधिक पक्षको वास्तविक प्रतिवेदन नेप्सेले वाइकोसँग माग गर्नुपर्ने भए पनि वाइकोले आफु अनुकुल रुपमा गर्ने व्याख्यालाई नेप्सेले स्वीकार गर्दै आएको छ । नेप्सेभन्दा वाईको बलियो भएका कारण यस्ता समस्या र सुधारका सम्बन्धमा वाईकोको मनोमानी हाबी हुँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।