वैदेशिक रोजगारीमा जानेको पहिलो रोजाइमा मलेसिया, जेठमा साढे ५९ हजार विदेशिए


गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् । २०८० जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।

श्रम स्वीकृति लिनेमा ५३ हजार ३११ जना पुरुष र ६ हजार १११ जना महिला रहेका छन् । विभागका अनुसार ९२ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको हो ।

जेठ महिनामा मलेसिया जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । पारिश्रमिकका साथमा बस्नका लागि होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिन थालेपछि मलेसिया धेरैको रोजाइमा पर्न थालेको हो । विभागको तथ्याङ्क अनुसार पछिल्लो महिना मलेसिया जान १३ हजार ८४४ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैशाख महिनामा मलेसिया जानको लागि १४ हजार ६३६ जनाले स्वीकृती लिएका थिए । बैशाखको तुलनामा जेठमा मलेसिया जानेको संख्या घटेको हो ।

यस्तै, कतार जान १० हजार ८७७ जनाले श्रम स्वीकृती लिएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई) जान १० हजार ६२६, साउदी अरब जान १० हजार ३५२, कुवेत जान २ हजार ७५९, कोरिया जान २ हजार ९६४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

कुन जिल्लाबाट कतिले लिए श्रम स्वीकृति

धनुषाबाट सबैभन्दा धेरैले श्रम स्वीकृती लिएका छन् । धनुषापछि झापा, सिराहा ,मोरङ, महोत्तरी, रुपन्देही, सर्लाही, सप्तरी, चितवन, कपिलवस्तु, मकवानपुरबाट सबैभन्दा धेरैले श्रम स्वीकृती लिएका छन् । धनुषाबाट २ हजार ९ सय ८७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृती लिएका छन् । यस्तै झापाबाट २ हजार ८४२ जनाले विदेशमा रोजगारी गर्नको लागि श्रम स्वीकृती लिएका छन् । सिराहाबाट २ हजार ५६३ जना, मोरङबाट २ हजार ४४३ जना, महोत्तरीबाट २ हजार ११५ जना, रुपन्देहीबाट १ हजार ८९२ जना, सर्लाहीबाट १ हजार ७१० जना र सप्तरीबाट १ हजार ५७१ जनाले श्रम स्वीकृती लिएका छन् ।

यसैगरी चितवनबाट १ हजार २७७ जना, कपिलवस्तुबाट १ हजार १९६ जना र मकवानपुरबाट १ हजार ३४ जनाले श्रम स्वीकृती लिएका छन् ।

यता जेठ महिनामा रुकुमबाट कसैले पनि श्रम स्वीकृती नलिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । नवलपरासीबाट ५ जनाले मात्रै श्रम स्वीकृती लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।