फ्रुुटी, एप्पी उत्पादक साउथ एशियन बेभरेजको ९ महिनाको आम्दानी १५ करोड


नेपालको सफ्ट ड्रिंक्स तथा जुस उत्पादनमा नवप्रवेशी साउथ एशियन बेभरेज प्रालिले चालु आवको ९ महिनामा १५ करोड १८ लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

‘फ्रुुटी’ तथा ‘एप्पी’ ब्रान्डबाट फ्रुट जुसको उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनी सन् २०२१ मा स्थापना भई सन् २०२२ को नोभेम्बर महिनाबाट सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको केही समयमा नै कम्पनीले १५ करोड १८ लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आगामी समयमा इनर्जी ड्रिंक, कार्बोरेनेटेड सोडा, स्पोर्टस बेभरेज तथा दुग्धमा आधारित बेभरेज उत्पादन गर्ने तयारी गरिरहेको छ । जसका लागि कम्पनीले १ अर्ब २० करोड ६४ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले ७२ करोड बराबरको दीर्घकालीन कर्जाका लागि ‘बी प्लस’ र ४८ करोड ६४ लाख बराबरको अल्पकालीन कर्जाका लागि ‘ए ४’ रेटिङ प्रदान गरेको छ । सञ्चालनको सुरुवाती चरणमा रहेकाले कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ऋणात्मक रहेको छ ।

साउथ एशियन बेभरेज प्रालि भारतको पारले एग्रो इन्डियाको फ्रेन्चाइजी हो । भारतमा राम्रो ख्याति र विश्वसनीयता कमाएको कम्पनीले नेपालमा कसरी बजार विस्तार गर्छ र सफ्ट ड्रिंक्स उत्पादक कम्पनीहरुबीच प्रतिस्पर्धा बढेको समयमा आफूलाई स्थापित गर्न के गर्छ भन्ने प्रश्न यथावत् छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।