सन् २०२२ मा पर्यटक आगमन ३०७% ले सुधारिए पनि घट्यो बसाई अवधि

0
Shares

कोरोना भाइरसको समयभन्दा नेपाल आउने पर्यटकको संख्ङ्यामा उल्लेख्य वृद्धि भएपनि उनीहरुको औसत नेपाल बसाई अवधि भने घटेको तथ्याङ्कमा देखिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२२’ अनुसार सन् २०२०–२१ को तुलनामा सन् २०२२ मा पर्यटकहरूको बसाई अवधि घटेको हो ।

अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा पर्यटक आगमन ३०७ प्रतिशत भन्दाबढीले बढेको छ । समीक्षा अवधिमा पर्यटकको औसत बसाई अवधि भने २.४ दिन घटेको छ । नेपाल घुम्न आउने पर्यटकको बसाई अवधिलाई लम्याउन सके यस क्षेत्रबाट नेपालले राम्रो आम्दानी गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । तर पछिल्लो वर्षमा भने पर्यटकको संख्या बढे पनि बसाई अवधि घट्दा सरकारले प्राप्त गर्ने राजश्व संकलन पनि घटेको छ ।

प्रतिवेदन अनुसार अघिल्ला दुई वर्षहरूमा पर्यटकको बसाई अवधि औसतमा १५ दिनभन्दा बढी रहेकोमा सन् २०२२ मा आइपुग्दा घटेर १३.१ दिनमा झरेको हो । तथ्याङ्क अनुसार सन् २०२० मा औसतमा १५.१ र सन् २०२१ मा औसतमा १५.५ दिन रहेको थियो । त्यसअघि सन् २०१९ मा १२.७ दिन रहेको थियो ।बसाई अवधिसँगै पर्यटकको खर्च पनि घटेको छ । सन् २०२१ मा एक पर्यटक नेपाल घुम्न आउँदा प्रतिदिन ४८ डलर खर्च गर्ने गरेकोमा यस्तो खर्च अहिले घटेर प्रतिदिन ४०.५० डलरमा झरेको छ ।

“नेपालमा मात्र नभई कोभिडपछि विश्वमा नै पर्यटकले बसाई अवधि छोट्याएका छन् । अहिले विश्वकै अर्थतन्त्र शिथिलता आएका कारणले पनि पर्यटकले धेरै समय बिताउन नचाहेको देखिन्छ । विश्वकै ट्रेन्ड हेर्दा पर्यटकहरू एक देशबाट अर्को देश जाने घुम्ने र छोटो अवधिमै फर्किहाल्ने देखिन्छ” नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले भने, “नेपालले नयाँ पर्यटकीय प्रडक्ट उत्पादन गर्न सकेको खण्डमा अहिलेको भन्दा अझै लामो समय पर्यटकलाई राख्न सकिन्थ्यो ।” परम्परागत प्रडक्टका कारण धेरै पर्यटकलाई लामो समयसम्म नेपाल बसाउन नसकिएको निर्देशक लामिछानेले बताए । अन्नपूर्ण, धौलागिरि, मनास्लु आदि पदमार्गमा धेरै पर्यटक जाने गरेका छन् । यी क्षेत्रहरुमा खान बस्नको लागि राम्रो सुविधा दिनसके पर्यटकको खर्च बढ्ने उनको तर्क छ ।

अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ३०७.३० प्रतिशतले बढेर सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये मुख्य रुपमा विदा मनाउन र मनोरञ्जनको उद्देश्यले ३ लाख ९७ हजार ८२० जना र धार्मिक पर्यटकको रुपमा ७९ हजार १४६ जना नेपाल आएका छन् । यस्तै पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकको संख्या ६१ हजार ७०१ जना छ ।

भारतबाट भित्रिए सर्वाधिक पर्यटक

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार २०२२ मा भारतबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यो वर्षमा कुल ६ लाख १४ हजार ८६९ पर्यटक नेपाल आएकोमा भारतबाट मात्रै २ लाख ९ हजार ३३४ जना पर्यटक भित्रिएका हुन् । जुन ३४.०५ प्रतिशत बराबरको हो । भारत बाहेक अन्य देशहरुबाट ४ लाख ५ हजार ५३५ जना पर्यटक नेपाल आएको तथ्याङ्क छ ।

भारतपछि अमेरिकाबाट ७७ हजार ८२ जना (१२.५४ प्रतिशत), बेलायतबाट ४५ हजार ९४ जना (७.३३ प्रतिशत), अष्ट्रेलियाबाट २६ हजार ८९४ (४.३७ प्रतिशत) र बंगलादेशबाट २५ हजार ३८३ जना (४.१३ प्रतिशत) पर्यटक आएका छन् ।

नेपाल घुम्न आउने पयर्टकहरूको रोजाइमा पशुपतिनाथ र लुम्बिनी अग्र स्थानमा पर्ने गरेका छन् । सन् २०२२ को वर्षभरिमा ९ लाख ३ हजारले लुम्बिनी भ्रमण गरेका छन् । जसमध्ये ७१.८ प्रतिशत स्वदेशी, २५.५ प्रतिशत भारतीय र २.६ प्रतिशत तेस्रो मुलुकका पर्यटक छन् । त्यस्तै ५५ हजार २०० जनाले पशुपति भ्रमण गरेका छन् ।

त्यस्तै सन् २०२२ मा १ हजार ५२ आरोही समूहका ५३ हजार २३३ जनाले हिमाल आरोहण गरेका छन् । जसमा सबैभन्दा बढी अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्पेन, चीन र भारत लगायतका मुलुकका पर्यटकहरूले सगरमाथा, आमादब्लम, र मनास्लु हिमाल आरोहण गरेका हुन् ।
कोभिडका कारण सन् २०२१ मा १ लाख ५० हजार ९६२ जना र सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक मात्र नेपाल भित्रिएका थिए । कोभिडभन्दा अघिल्लो वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना र सन् २०१८ मा ११ लाख ९७ हजार १९१ जना नेपाल भित्रिएका थिए ।

पर्यटकको रोजाइ असोज र कत्तिक महिना

मन्त्रालयको तथ्याङ्क अनुसार पर्यटकको रोजाईमा असोज र कात्तिक महिना पर्ने गरेको छ । हावापानीको हिसाबले राम्रो रहेको अक्टोवरमा ८८ हजार ५८२ पर्यटक नेपाल आएका छन् । असोज १५ देखि कात्तिक १५ गतेसम्म ८८ हजार पर्यटक नेपाल भित्रिएका हुन् । नेपालमा सबैभन्दा धेरै पर्यटन आउने देश भारत हो । भारतमा अक्टोवरमा दिपावलीको विदा पर्ने हुँदा पनि यो महिना पर्यटक धेरै आउने गर्दछन् ।

यस्तै नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै डिसेम्बरमा ६७ हजार ९३२ जना पर्यटक भित्रिएका छन् भने अप्रिलमा ६१ हजार ५८९ आएका छन् । यसैगरी, सेप्टेम्बरमा ५८ हजार ३१४, मे महीनामा ५४ हजार ९३, जुनमा ४६ हजार ९५७ जना, जुलाइमा ४४ हजार ४६२ जना, मार्चमा ४२ हजार १५२ जना नेपाल घुम्न आएका छन् ।

यस्तै, अगष्टमा ४१ हजार ३०४ जना, फेब्रुअरीमा १९ हजार ८५६, जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका छन् । जम्मा ६ लाख १४ हजार ८६९ पर्यटकमध्ये ५३ हजार २३३ पर्यटकले नेपालका विभिन्न भागमा पदयात्रा गरेका छन् ।

सन् २०२२ मा साढे ३२ अर्ब राजश्व संकलन

आर्थिक वर्ष २०७८/७९ मा विदेशी पर्यटकबाट ३२ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । विसं २०७७/७८ को तुलनामा २०७८/७९ मा राजश्व संकलन ३३५.६० प्रतिशतले बढेको हो । विसं २०७७÷७८ मा ७ अर्ब २६ करोड ६३ लाख राजश्व संकलन भएको थियो ।

पर्यटनको बसाई अवधि घटे पनि धेरै पर्यटन आउन थालेकोले राजश्व संकलनमा आकर्षक बढोत्तरी भएको हो । यसैगरी २०७९/८० को सात महिनामा ३२ अर्ब २३ करोड ५९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो वर्षभरिमा संकलन भएको राजश्व चालु आव २०२२/२३ को ७ महीनामा नै संकलन भैसककाले यो वर्ष राजश्वका साथै पर्यटकको संख्या पनि उल्लेख्य वृद्धि हुने देखिएको छ । सात महिनामा पर्यटकबाट ३२ अर्ब २३ करोड ५९ लाख राजश्व संकलन भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सन् २०२३ को ६ महिनामा पौने पाँच लाख भित्रिए

पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक भित्रिएका थिए । यस वर्षको जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २४४ जना, मार्चमा ९९ हजार ४२६ जना, अप्रिलमा ९८ हजार ७७३ जना र मे महीनामा ७७ हजार ७०३ विदेशी पर्यटक नेपाल आएका थिए । साथै, जूनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।