प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु

0
Shares

प्रभु इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जर सम्बन्धी सम्पुर्ण काम सकाएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको १ः१ अनुपातमा मर्ज भएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच २०७९ असार ३० गते बिहीबार मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।  त्यसको एक वर्षपछि दुई कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जेठ २९ गते, कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते र नेपाल धितोपत्र बोर्डले असार २६ गते अन्तिम स्वीकृति दिएको थियो । दुबै कम्पनीले जेठ २६ गते साधारणसभा सम्पन्न गरेर मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

एकीकृत कारोबारपछि डाटा माइग्रेसनका लागि तीन दिन दुबै कम्पनीको सम्पूर्ण सेवाहरु बन्द भएको छ । असार २९, ३० र ३१ गते दुबै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द भएको हो ।

मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा प्रभु लाइफ इन्स्योरेन्सका सुभाष अमात्य र महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई रहेका छन् ।

मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि कम्पनीले १० करोड बराबरको प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

मर्जर प्रयोजनको लागि नेप्सेले सूचीकृत रहेको साविक प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार १५ दिनका लागि रोक्का समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।