नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको एकीकृत कारोबार असार ३० देखि

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले असार ३० गते शनिबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र दुबै कम्पनीले साधारण सभाबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुई लघुवित्तको एकीकृत कारोबारको मिति तय भएको हो ।

नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् । दुई लघुवित्तले २०७९ असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।

प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेसियोमा कायम हुने सहमति भएपनि दुबै कम्पनीको चल अचल सम्पत्ती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा कायम सेयर आदान प्रदान अनुपात १ः०.७३ कित्ता निर्धारण भएको छ । उल्लेखित स्वाप रेसियो अनुसार समीट लघुवित्तको १०० कित्ता सेयर हुने लगानीकर्ताले एकीकृत संस्थाको ७३ कित्ता सेयर प्राप्त गर्नेछन् भने नेशनलको साबिक कित्ता बमोजिम नै रहने छ । दुई संस्थाबीच भएको प्रारम्भिक मर्जर सम्झौतामा १००ः८२ स्वाप रेसियो अनुपातमा गाभिने प्रारम्भिक सहमति भएपनि डिडिएपछि भने स्वाप घटेको हो ।

मर्जपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । मर्जर पश्चात संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर १०, कायम हुने गरी संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ । मर्जर पश्चात बन्ने संस्थाको नेशनल समीट माइक्रोफाइनान्स सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष केशवप्रसाद आचार्य रहनेछन् । यस्तै प्रमुख कार्यकारी अधिकृतमा पनि सोही संस्थाको राम बहादुर यादव रहने सहमति छ ।

मर्जर पश्चात संस्थाको अधिकृत पुँंजी १ अर्ब ५० करोड तथा जारी पूँजी तथा चुक्ता पूँजी १ अर्ब ८ करोड ४२लाख ६ हजार २१९ रुपैयाँ ५३ पैसा कायम हुनेछ । समीट लघुवित्तको सेयर पुँजीको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्नेुपर्ने हुन्छ । समीट प्राप्तीपछि कायम हुने सेयर स्वामित्वमा सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

सेयर कारोबार रोक्का

असार ३० गते शनिबारदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएसँगै नेप्सेले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको दुबैको सेयर कारोबार १५ दिनका लागि रोक्का गरेको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार असार ३० गते देखि लागू हुने गरी रोक्का राखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।