साताको सेयर बजारः नेप्से साढे ३५ अंकले बढ्दा कस्तो रह्यो समग्र अवस्था ?

0
Shares

यो साता नेप्से ३५.५५ अंकले बढेको छ । नेप्सेमा एक सातामा १.७३ प्रतिशतको बढोत्तरी भएको हो । नेप्से बढेसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण पनि करिब ५६ अर्बले बढेर ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँले वृद्धि भएको छ ।

आइतबार २०४९.३८ बिन्दुमा खुलेको नेप्से पाँच कारोबार दिनमा २०८४.९३ बिन्दुमा बन्द भएको छ । आइतबार २८.३८ अंकले बढेको सूचक सोमबार ०.८० र मंगलबार ४.७३ अंकले घटेको थियो । बुधबार २५.७१ अंकले बढेको बजार अन्तिम दिन बिहीबार १२.६२ अंकले करेक्सन आयो ।

अघिल्लो साता नेप्सेको कुल बजार पूँजीकरण ३० खर्ब ८ अर्ब ७२ करोड १४ लाख रुपैयाँ रहेकोमा बढेर ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ माथि पुगेको हो ।

यस साता कारोबारमा आएका १३ वटा उपसमूहगत सूचकमध्ये जलविद्युत बाहेक सबै बढेका छन् । जलविद्यत ०.०९ प्रतिशतले घटेको बजारमा विकास बैंक सर्वाधिक ४.१२ प्रतिशतले बढेको छ । गत साता ३ हजार ७२० विन्दुमा रहेको विकास बैंकको परिसूचक यो साता १५३.२५ अंक बढेर ३ हजार ८७४ विन्दुमा पुगेको छ । यस्तै यो साताको बजारमा लघुवित्त ३.९० प्रतिशत, फाइनान्स ३.७७, उत्पादन तथा प्रशोधनमुलक ३.५३, म्युचुअल फन्डको इन्डेक्स ३.४१, अन्य २.६३, ब्यापार २.०७, निर्जीवन बीमा १.७९, बैंकिङ्ग १.४७, लगानी १.४०, होटल तथा पर्यटनमुलक सर्वाधिक ०.७४ र जीवन बीमा ०.२२ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकम पनि ८.८६ प्रतिशत घटेर दैनिक औसत ३ अर्ब २६ करोडमा झरेको छ । गत साता दैनिक औसत ३ अर्ब ५७ करोड रुपैयाँ थियो । यो साता २९० कम्पनीको कुल ४ करोड ५४ लाख १० हजार ७१५ कित्ता सेयर १६ अर्ब २७ करोड ८३ लाख ७७ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । गत साता २८० कम्पनीका १७ अर्ब ८५ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

आठ कम्पनीको एकैसाथ रोकियो नेप्सेमा सेयर कारोबार

समीटको बोनस सूचीकृत

यस साता नेप्सेमा समीट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कुन कम्पनीको सेयरधनीले कमाए, कुन कम्पनीको गुमाए त ?

यो साता एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक २१ प्रतिशतले बढर प्रतिइकाई ९ रुपैयाँ ६८ पैसा पुगेको छ । त्यसैगरी एनआईबिएल समृद्धि फण्ड–२ को इकाईमूल्य १९.३६ प्रतिशत बढेर ८ रुपैयाँ ६३ पैसा, माउन्टेन इनर्जी नेपालको सेयर मूल्य १८.४९ प्रतिशत बढेर १०१९ रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.७४ प्रतिशत बढेर ३६३ रुपैयाँ ५० पैसा र सिटिजन म्युचुअल फन्ड–२ को इकाई मूल्य १२.८९ प्रतिशत बढेर ९ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

उता यस साता कारोबारमा आएकामध्ये शतप्रतिशत हकप्रद बिक्रीको अनुमति पाएको अपर तामाकोशी सेयर मूल्य सर्वाधिक ९.४९ प्रतिशतले घटेर ४२९ रुपैयाँमा झरेको छ । यस्तै बलेफी हाइड्रोपावरका लगानीकर्ताले ७.८० प्रतिशत घटेर २६० रुपैयाँमा, प्रोगेशिभ फाइनान्सको ६.८९ प्रतिशत घटेर ४१९ रुपैयाँमा, बिपीडब्लू लघुवित्तको ६.०१ प्रतिशत घटेर ११३३ रुपैयाँमा, पिपल्स हाइड्रोपावरको ४.५८ प्रतिशत घटेर ३१८ रुपैयाँ ५० पैसामा झरेको छ ।

यसै साता सीमित ब्रोकरेज गर्नेगरि २० करोड पूँजी भएका सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका छन् । नागरिक स्टक डिलर सहित ५० ब्रोकरले सेवा दिँदै आएकोमा अब लगानीकर्ताले ५८ वटा ब्रोकरबाट सेवा पाउने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति पाएको १ अर्ब ५० करोड पूँजी सहित स्थापित नबिल स्टक डिलर र एक पूर्ण कार्य गर्ने ६० करोड पुँजीको ब्रोकर कम्पनी सहित १० नयाँ ब्रोकर कम्पनी समेत नेप्सेको सदस्यताको पर्खाइमा छन् । आगामी आर्थिक वर्षमा पुराना ५० र नयाँ ४३ सहित कुल ९३ ब्रोकर कम्पनीले धितोपत्र कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।