सिमेन्ट उत्पादक संघद्धारा मारुती सिमेन्टका प्रवन्धक पक्राउको विरोध

0
Shares

नेपाल सिमेन्ट उत्पादक संघले मारुती सिमेन्ट उद्योगका संचालकलाई पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको घर बनाउँदा बनाउँदै भत्किएको विषयमा अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक भएको बताएको हो । संघले उद्योगीहरुलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाईदा नहुने दाबी गरेको छ ।

पक्राउ पुर्जी जारी भएका मध्ये मारुतीका बिजेनस डाइरेक्टर ज्योति शर्मा पक्राउ परेका थिए । संघले पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामाग्रीको प्रयोग लगायतका विषय नहेरी उद्योगीलाई मात्रै निशाना बनाइएको जनाएको छ ।

‘कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अबौं लगानी गर्ने, हजारौको संख्यामा रोजगारी दिने र करोडौं रुपैया राजश्व तिर्ने उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गरी थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्यहरु गर्नु गराउनुले समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्न जाने कुरा पनि प्रष्ट छ’ संघले भनेको छ, ‘गुणस्तर सम्वन्धि विषयलाई लिएर हुने कारवाही सम्वन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्धा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु हुन्न भन्ने धारणा यस संघको रहेको छ ।’

राजविराज-४ का पत्रकार दिवाकर साहले आफूले बनाउँदा बनाउँदैको घर गुणस्तरहीन सिमेन्टका कारण भत्किएको भन्दै उजुरी दिएका थिए । मारुती सिमेन्ट उद्योगका ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यस मध्ये व्यापार प्रवन्धक ज्योति जोशी पक्राउ परे भने अन्य ५ जना फरार छन् । उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा तथा सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ५ जना फरार रहेका छन् । आपराधिक र विश्वासघात मुद्दामा मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक पक्राउ परेका हुन् । अन्य फरार ५ जना विरुद्ध पनि सोही मुद्धामा पक्राउ पुर्जी जारी भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।