प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन

0
Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् ।

एकीकृत कारोबारपछि साउन १ गते बसेको सञ्चालक समितिको बैठकले साविक प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । ३२ वर्षीया भट्टचन जीवन बीमा क्षेत्रमा कान्छी महिला अध्यक्ष भएको बताइएको छ । उनी यसअघि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष थिइन् । अध्यक्ष हुनुअघि उनी सोही कम्पनी सञ्चालक समिति सदस्य थिइन् । शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा संस्थापक समूहबाट शुसन शेरचन र सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका हुन् ।

यस्तै साविकको महालक्ष्मी लाइफको तर्फबाट संस्थापक समूहबाट प्रतिनिधित्व हुनेगरी सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ नियुक्त भएका छन् ।
नयाँ कम्पनीको सञ्चालक समिति सदस्यमा साविकको प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट ४ जना र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट २ जना नियुक्त भएका हुन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार भट्टराई छन् ।व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्थापनाकालदेखिको सीईओ थिए । २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैंकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

२०५२ मंसिर १५ गते वीरगन्जमा स्थापित महालक्ष्मी फाइनान्समा प्रथमपटक भट्टराई संस्थापक प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त भएका थिए। त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भई कार्यरत थिए । विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुखजस्तो नेतृत्वदायी भूमिकामा रहेका भट्टराईले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उचाइमा पुर्याउने विश्वास गर्न सकिने कम्पनीले जनाएको छ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर प्रकृया पूरा गरी असार २९ गतेदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुइ कम्पनीबीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । यी दुई कम्पनीको जेठ २६ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ मा मर्जर सम्पन्न भएको हो ।

एकिकृत कारोबार प्रयोजनको लागि दुवै कम्पनीले समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द गरेका थिए । एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले आज असार २९ देखि ३१ गतेसम्म २ दुवै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरेका थिए ।

मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।