नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित, एफएटीएफले अब्जरभेसन अवधि दिने

0
Shares

एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) को वार्षिक प्लेनरी बैठकले नेपालको पारस्परिक मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन पारित गरेको छ । एपीजीले सन २०२१ देखि अनुगमन गरेर तयार गरेको प्रतिवेदन एपीजीका सदस्य राष्ट्रहरू र पर्यवेक्षक/समीक्षकको सहभागितामा पारित भएको हो।

गत असार २४ गते देखि २९ गतेसम्ममा क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) को वार्षिक प्लेनरी बैठक सम्पन्न भएको छ । उक्त बैठकमा नेपाबाट राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी सहितको टोलि सहभागि थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय समन्वय समितिका संयोजक उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयका सचिव एवम् पारस्परिक मूल्याङ्कन मूल समितिका संयोजक धनराज ज्ञवालीसहित पारस्परिक मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएका विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकले यस वर्ष सम्पन्न भएका नेपाल, ब्रुनाई र लाओसको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित गरेको हो । साथै, बैठकले मङ्गोलिया, थाइल्याण्ड लगायतका देशको वार्षिक प्रगति विवरण उपर छलफल गरी ती देशका अनुगमन प्रतिवेदन पनि पारित गरेको छ । बैठकमा नेपालको पारस्परिक मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदनका सम्बन्धमा विस्तृत छलफल हुँदा मूल्याङ्कनकर्ताले यसअघि मूल्याङ्कन गरेको रेटिङमा एउटा सुझाव थप गरी प्रतिवेदनमा केही सुधार भएको थियो ।

बैठकमा नेपालको यससम्बन्धी कानुन निर्माण र संशोधन सम्बन्धी विषयले उच्च प्राथमिकता पाएको थियो । प्लेनरी बैठकले पारित गरेको पारस्परिक मूल्याङ्कन प्रतिवेदनको फलोअप प्रतिवेदन एपीजीमा पेस गर्नुपर्ने हुन्छ । यस अवसरमा पारित भएका पारस्परिक मूल्याङ्कन प्रतिवेदन एफएटीएफ मार्फत ग्लोबल नेटवर्कमा सञ्चार भए पछि सुझावमा रहको बुँदाहरू कार्यान्वयनमा लैजाने एक्सन प्लान सहितको प्रतिबद्धता सरकारले एफएटीएफ समक्ष पेस गर्नुपर्छ । यस सिलसिलामा मुलुक प्रत्यक्ष निगरानीमा रहनु अघि एफएटीएफले नेपाललाई अब्जरभेसन अवधि प्रदान गर्नेछ जुन अवधिमा सुझाइएका कार्यहरू कार्यान्वयन हुने अपेक्षा राखिएको हुन्छ । सुझावहरू एफएटीएफका मापदण्ड र अन्य मुलुकले पालना गर्दै आएका विषयलाई आधार मानी पारित भएका हुन्छन् ।

गभर्नर अधिकारीले बैठककै क्रममा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल विरासिङ्घेसँग साइडलाइन बैठक गर्नुभएको थियो । उक्त बैठकमा नेपाल र श्रीलङ्काको वर्तमान आर्थिक स्थिति, दुई केन्द्रीय बैंकबीचको सम्बन्ध र द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल भएको थियो । साथै, गभर्नर अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलमा सहभागी युएस ट्रेजरी, युएस डिपार्टमेन्ट अफ जस्टिस र युएस डिपार्टमेन्ट अफ स्टेटको टोलीसँग समेत छलफल गरेका छन ।

एपीजीको वार्षिक बैठकपछि गभर्नर अधिकारीले अमेरिकाको वाशिङ्गटन डीसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालयमा कोषका डेपुटी मेनेजिङ्ग डाइरेक्टर एन्टोनेट सायहसहित साउथ इस्ट एसिया भोटिङ ग्रुपका कार्यकारी निर्देशक, मनी एण्ड क्यापिटल मार्केट (एमसिएम) डिपार्टमेन्ट, लीगल डिपार्टमेन्ट र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरशेन(डिएफसी) का विशिष्ट पदाधिकारीहरूसँग सेफगार्ड एसेसमेन्ट, विस्तारित कर्जा सुविधा, पारस्परिक मूल्याङ्कन लगायत विषयमा द्विपक्षीय छलफल गरेका छन्।

एपीजी एफएटीएफ स्टाइल क्षेत्रीय निकाय (एफएसआरबी) हो र यसले एसिया प्यासिफिक क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एफएटीएफ मापदण्डअनुसारको नीति, नियम र सोको कार्यान्वयनका लागि आवश्यक अनुगमन र समन्वय गर्ने गर्दछ । यसले सन् २०२१ देखि नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन गरिरहेको छ । सन् १९९५ मा स्थापित यस संस्थामा हाल एसिया प्यासिफिक क्षेत्रका ४१ वटा राष्ट्रहरू सदस्य रहेका छन् । एपीजीको मुख्य सचिवालय अष्ट्रेलियाको सिड्नीमा अवस्थित छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।