हाथवे इन्भेष्टमेन्टको आईपीओ वैदेशिक रोजागारीमा रहेकालाई खुल्यो, ५० रुपैयाँमा किन्न पाइने

0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आज साउन ४ गते बिहीबारदेखि नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले प्रति सेयर अंकित मूल्य ५० रुपैयाँ दरमा १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ मोबाइल एप तथा अनलाईन माध्यामको प्रयोग गरी मेरो सेयरेको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु पनि सि–आस्बा प्रणाली मार्फत सेयरमा आवेदन दिन सकिन्छ ।

आईपीओमा न्यूनतम २० देखि २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

हाथवेले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । प्रतिकित्ता ५० रुपैयाँमा जारी गरेकाले कम्पनीले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमा १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन भएको सेयर बाँडफाँडपछि २४ लाख २७ हजार ७५० कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणमा बिक्री गर्नेछ ।

हाथवे इन्भेष्टमेन्टले नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाथवेमा आईएमई ग्रुपको मुख्य लगानी रहेको छ । हेमराज ढकालसह संस्थापक तथा प्रबन्ध निर्देशक रहेको कम्पनीमा योगेश्वर शर्मा अध्यक्ष छन् । यस्तै सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेल, कुमार पौडेल (अलका इन्भेष्टमेन्टका सञ्चालक तथा अध्यक्ष), निमिष इन्भेष्टमेन्ट, सुमित प्रधान, सुशिल अर्याल (विद्युत प्राधिकरणमा सहायक प्रबन्धक) लगायतका १५ जनाको मुख्य लगानी छ ।

कम्पनीले पूँजीबजारका अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वःपूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योजना पुर्याउँदै आएको छ ।

हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी  १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत सेयर स्वामित्व कायम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।