ओटीसी मार्केटमा ८४ कम्पनीको झण्डै ३ अर्बको कारोबार, सरकारलाई ५ करोड २९ लाख पुँजीगत लाभकर

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा गत आर्थिक वर्ष २०७९/८० मा ओभर दी काउन्टर (ओटीसी) मार्केट मार्फत झण्डै तीन अर्बको कारोबार भएको छ । यसबाट सरकारले ५ करोड २९ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ ।

नेप्सेले सञ्चालन गर्ने ओटिसि मार्केटमा हालसम्म २०६ वटा कम्पनी दर्ता भएका छन् । तीमध्ये गत आर्थिक वर्ष (आव) २०७९/८० मा ओटीसी मार्केट मार्फत ८४ कम्पनीको २ करोड १२ लाख ६४ हजार ९५ कित्ता सेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ७८६ रुपैयाँ बराबरमा खरिद बिक्री भएको हो । ओटीसी मार्केटमा भएको कारोबारबाट राज्यले ५ करोड २९ लाख ५५ हजार ९८० रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको नेप्सेले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ओटिसि मार्केटमा २ करोडभन्दा बढी कित्ता सेयर २ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो आवको तुलनामा ५० करोड ३९ लाख रुपैयाँले कारोबार बढेको हो ।

यी हुन् सबैभन्दा धेरै रकमकाे कारोबार भएका कम्पनी

गत आर्थिक वर्षमा अर्किड होल्डिङ कम्पनी, नेपाल स्टक एक्सचेञ्ज, अन्नपूर्ण केवलकार, मिड सोलु हाइड्रोपावरको धेरै कारोबार भएको छ । शिखर अर्गनाइजेशन, नेपाल लाइफ क्यापिटल लिमिटेड, खोरंगा हाइड्रोपावर र कोसमिक इलेक्ट्रिकल लिमिटेडको थोरै कारोबार भएको छ ।

गत आवमा अर्किड होल्डिङ कम्पनीको सबैभन्दा धेरै ५७ करोड ६३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । दुई पटकको काराबारबाट कम्पनीको ३८ लाख ६० हजार ५०० कित्ता सेयर कारोबार भएको हो । कम्पनीले ३५ लाख ६० हजार ५०० कित्ता १५० रुपैयाँका दरले ५३ करोड ४० लाख ७५ हजार रुपैयाँमा र ३ लाख कित्ता १४१ रुपैयाँका दरले ४ करोड २३ लाख रुपैयाँमा खरिद बिक्री भएको हो ।

गत आर्थिक वर्ष (आव) २०७९/८० मा ओटीसी मार्केटमा २ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा अर्किट होल्डिङको हिस्सा २०.१६ प्रतिशत (५७ करोड ६३ लाख ७५ हजार रुपैयाँ) छ । यस्तै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रतिकित्ता ६६७ रुपैयाँ ५२ पैसाका दरले ५ लाख ९ हजार ३४२ कित्ता सेयर ३३ करोड ९९ लाख ९५ हजार ९७१ रुपैयाँ ८० पैसामा खरिद बिक्री भएको छ ।

सर्वोत्तम स्टील लिमिटेडको २० लाख ६८ हजार २५० कित्ता सेयर तीन वटा कारोबार मार्फत २४ करोड ९७ लाख ८० हजार रुपैयाँमा खरिद बिक्री भएको छ । कम्पनीको १५ लाख ५९ हजार कित्ता सेयर १०० रुपैयाँका दरले १३ करोड ५९ लाख रुपैयाँमा, ६ लाख ९९ हजार २५० कित्ता सेयर १६० का दरले ११ करोड १८ लाख ८० हजार रुपैयाँ र १० हजार कित्ता सेयर २०० का दरले २० लाख रुपैयाँमा कारोबार भएको हो ।

यस्तै अन्नपूर्ण केवलकारको २० करोड ५२ लाख १४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । केबलकारको २० लाख ५२ हजार १४३ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ रुपैयाँका दरले खरिद बिक्री भएको हो । साथै मिड सोलु हाइड्रोपावरको १८ करोड ४४ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । हाइड्रोपावरको १२ लाख २९ हजार ४८६ कित्ता सेयर १५० रुपैयाँका दरले खरिद बिक्री भएको हो ।

यस्तै रिलायबल भेञ्चर क्यापिटलको १७ लाख ४४ हजार ५०० कित्ता सेयर १०० रुपैयाँका दरले १७ करोड ४४ लाख ५० हजार रुपैयाँमा खरिद बिक्री भएको छ । यसैगरी गत आवमा बेनी हाइड्रोपावरको १४ लाख ७०० कित्ता सेयर १०६ रुपैयाँका दरले १४ करोड ८४ लाख ७४ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको छ ।

गत आवमा मेन्छियाम हाइड्रोपावर ६ करोड ९५ लाख रुपैयाँको ६ लाख ९५ हजार कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ करोड ४३ लाख २७ हजार रुपैयाँमा ७ लाख ७ हजार २९५ कित्ता, आईपीओ ल्याउन लागेको कान्तिपुर टेलिभिजन नेटवर्कको ५ करोड ९५ लाख २६ हजार रुपैयाँमा ४ लाख ३३ हजार ८०० कित्ता र .प्रभु क्यापिटलको ४ करोड १७ लाख ८९ रुपैयाँमा ३ लाख ६८ हजार ९८ कित्ता सेयर कारोबार भएको छ । यस्तै सुन्धारा सेक्युरिटीजको ३ करोड ८ लाख रुपैयाँमा १ लाख १४ हजार कित्ता, श्री डिष्टिलरीको ३ करोड ४९ लाख ६५ हजार रुपैयाँमा ३ लाख २३ हजार ७५० कित्ता, शुभम पावरको २ करोड ४४ लाख ८१ हजार रुपैयाँमा २ लाख ४४ हजार ८१४ कित्ता र मुक्तिनाथ कृषि कम्पनीको १ करोड ५८ लाख ५९ हजार रुपैयाँमा १ लाख ५१ हजार २७६ कित्ता कारोबार भएको छ । साथै गत आवमा प्रभु क्यापिटलको १ करोड ८३ लाख, सिद्धार्थ क्यापिटल ३१ लाख ६९ हजार, मुक्तिनाथ क्यापिटलको २० लाख र विजयदीप ल्यावटोरिजको १८ लाख रुपैयाँको सेयर ओटिसी मार्केटमा कारोबार भएको छ ।

ओटिसी मार्केट मार्फत गत आवमासबैभन्दा महँगो मूल्यमा काठमाण्डौं फरेष्ट्रि कलेजको सेयर कारोबार भएको छ। यस कम्पनीको सेयर प्रति कित्ता ११२५ रुपैयाँका दरले कारोबार भएको हो । कलेजको २ सेयर २२२ कित्ता सेयर २४ लाख ९९ हजार ७५० रुपैयाँमा खरिद बिक्री भएको हो । दोस्रो ठूलो लर्ड बुद्ध एकेडेमिकको ५०० रुपैयाँका दरले कित्ता कारोबार भएको छ ।

थोरै रकमकाे कारोबार भएको कम्पनी

ओटिसि मार्केटमा सबैभन्दा कम कारोबार गर्ने कम्पनी कोसमिक इलेक्ट्रिकल लिमिटेड रहेको छ । जसले एक वर्ष अवधिमा २ कित्ता सेयर ३२० रुपैयाँमा खरिद बिक्री भएको छ । एक सय रुपैयाँमा १ कित्ता र २२० रुपैयाँमा अर्को १ कित्ता सेयर कारोबार भएको हो ।

यस्तै खोरंगा हाइड्रोपावरले ५ लाख २७ हजार ५०० रुपैयाँ बराबरको ५ हजार २७५ कित्ता सेयर कारोबार गरेको छ । नेपाल लाइफ क्यापिटल लिमिटेडले ८ लाख रुपैयाँको ८ हजार कित्ता कारोबार भएकोे छ । शिखर अर्गनाइजेशनले ८ लाख ६५ हजार रुपैयाँ बराबरको ५ हजार कित्ता सेयर कारोबार भएको छ ।

के हो ओटिसि बजार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका (हटाइएका) कम्पनीहरु तथा सूचीकरणका लागि आवश्यक शर्त पुरा गर्न नसकेका कम्पनीहरूको सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ ।

ओभर द काउन्टर अर्थात् ओटिसि बजारमा सेयर बजार कारोबारमा ब्रोकरहरूको जस्तो मूल्य प्रणालीको संलग्नता बिना सिधा नेपाल स्टक एक्सचेन्ज मार्फत कुनै कम्पनीको सेयर किनबेच गर्न सकिन्छ । यो मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाका दिन बाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ ।

यो व्यवस्था सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक २०६५ जेठ महिनामा ‘ओटीसी बजार नियमवली, २०६५’ ल्याएको हो । उक्त विनियामवली अनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुटै काउन्टर खोली खारिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबार हुने गर्छ । यसका लागि ओटीसी विनियमावलीको मापदण्ड भने उक्त कम्पनीले पूरा गर्नुपर्ने हुन्छ ।

सर्वसाधारणमा सेयर जारी नगरेका पब्लिक कम्पनीहरूको कारोबार गराउन पनि ओटिसि बजारको स्थापना गरिएको हो । पब्लिकमा रूपान्तरण भएका तर सेयर निष्कासन गरेर नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्नुपर्ने नियम छ । ओटिसि मार्फत कारोबार गर्ने कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन ।

ओटिसिसा कारोबार गर्दा मूल्य खरिदरबिक्री कर्ता आफैँले तय गर्ने गर्छन् । अर्थात यति नै मूल्यमा खरिद बिक्री गर्नुपर्छ भन्ने बाध्यता खरिदरबिक्रीकर्तालाई हुँदैन । त्यसैले ओटिसिमा कारोबार गर्ने एउटै कम्पनीको मूल्यमा पनि निक्कै ठूलो परिवर्तन हुन्छ । धेरैजसो कम्पनीले भने फेस भ्यालु १०० रुपैयाँ मै कारोबार गर्ने गर्छन्। फेस भ्यालु भन्दा बढीमा कारोबार गर्दा पूँजीगत लाभकर समेत लाग्ने भएकोले पनि कम्पनीहरूले फेस भ्यालुमै बढी कारोबार गर्ने गरेका छन् । यति नै मूल्य हुनुपर्ने भन्ने कुनै नियम नभएकोले पनि कम्पनीहरूले आफूलाई पायक पर्ने मूल्यमै कारोबार गर्न सक्छन् ।

ओटीसी मार्केटमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका साथै विभिन्न सरकारी तथा निजी क्षेत्रका कम्पनीहरु, शैक्षिक संस्था, उत्पादनमूलक कम्पनी, हाइड्रोपावर, रेमिटेन्स सेवा प्रदायक, फाइनान्स कम्पनी, क्यापिट मार्केट लगायत क्षेत्रका कम्पनीहरु दर्ता भएका छन् ।