तरकारीको भाउ अचाक्ली वृद्धि, टमाटर ६० रुपैयाँसम्म बढ्यो


तरकारीको भाउ एक महिनामा दोब्बर बढीले बढेको छ । कालीमाटी तरकारी तथा फलफुल बजार तथा विकास समितिका अनुसार टनेलको सानो गोलभेडाको भाउमा ६० रुपैयाँले वृद्धि भएको हो ।

असार ६ गते ६ रुपैयाँमा खरिद बिक्री भएको टमाटर अहिले ६६ रुपैयाँ पुगेको छ । यस्तै नेपाली टमाटरको भाउ पनि ५३ रुपैयाँले वृद्धि भएको छ ।

असार ६ गते प्रतिकिलो ३३ रुपैयाँमा खरिद बिक्री भएको तरकारीको भाउ साउन ६ गतेसम्म आउँदा ८६ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यद्यपी भारतीय गोलभेडाको भाउमा भने सामान्य वृद्धि भएको छ । असार ६ गते ४० रुपैयाँमा बिक्री भएको गोलभेडा आज शनिबार ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

तरकारी बजार समितिकाअनुसार  भारतबाट आउने तरकारी भन्दा नेपालमा नै उत्पादन भएको तरकारीको भाउमा उल्लेख्य वृद्धि भएको छ । कालीमाटी तरकारी तथा फलफुल बजार तथा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतबाट आउने गोलभेडा नेपाली भान्सामा प्रयोग नगरिने भएकोले यसको भाउमा खासै परिवर्तन नआएको बताए । भारतबाट आउने टमाटर होटलमा मात्र प्राउय हुने उनको जिकिर छ ।

बाढी पहिरो र वर्षाका कारण नेपालमा उत्पादन भएको तरकारीको भाउ मात्र बढेको उनले बताए । उनले नोटबजारसँग भने, “नेपालमा उत्पादन भएको तरकारीलाई वर्षाले क्षती गर्यो त्यसैले पनि तरकारी महंगो भएको हो । अझै १ महिना तरकारीको भाउ घट्दैन ।” साउन र भदौमा माग र आपूर्तिमा तालमेल नहुने हुँदा भाउ बढेको उनको तर्क छ ।

यस्तै लोकल सानो गोलभेडाको भाउमा अत्याधिक वृद्धि भएको छ । ६ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको लोकल सानो गोलभेडा अहिले ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यता रातो आलुको भाउमा सामान्य वृद्धि भएको छ । एक महिना अगाडि ४३ रुपैयाँमा खरिद बिक्री भएको रातो आलु अहिले ५३ रुपैयाँमा कारोबार भइरहेको छ । भारतबाट आउने रातो आलु भने ३ रुपैयाँ मात्र बढेको छ । भारतीय आलु असार ६ गते प्रतिकिलो ३४ रुपैयाँमा कारोबार भएको थियो भने अहिले ३६ रुपैयाँमा कारोबार भइरहेको छ ।

मुडेको रातो आलुको भाउ ४० रुपैयाँ रहेको छ । एक महिना पहिला मुडेको रातो आलु ३७ रुपैयाँमा खरिद बिक्री भएको थियो । सेतो आलुको औसत थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । एक महिना पहिला सेतो आलु ३३ रुपैयाँ रहेको थियो । त्यस्तै, सुकेको प्याज (भारतीय) को औसत थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ एक महिनामा भारतीय प्याज १ रुपैयाँले मात्रै वृद्धि भएको छ ।

यस्तै समितिले गाँजर (लोकल) को औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ तोकेको छ। तराइको गाँजर भने ५५ रुपैयाँमा बिक्री भइरहेको छ । लोकल बन्दाको औसत थोक मूल्य प्रतिकिलो १३ रुपैयाँ कायम गरिएको छ। नरिवल बन्दा भने १२ रुपैयाँमा कायम छ । स्थानीय काउलीको औसत थोक मूल्य प्रतिकिलो ८५ रुपैयाँ रुपैयाँ छ भने स्थानीय काउली (ज्यापु)को औसत थोक मूल्य प्रतिकिलो ९५ रुपैयाँ कायम छ । तराईको तरकारीको भाउ भने ४३ रुपैयाँ रहेको छ ।

यस्तै, रातो मूलाको औसत थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ छ भने सेतो मूला (लोकल) को औसत थोक मूल्य प्रतिकिलो १७ रुपैयाँ रहेको छ । सेतो मूला (हाइब्रीड) को भने औसत थोक मूल्य प्रतिकिलो २२ रुपैयाँ रहेको छ । समितिले तय गरेको मूल्य सूचीमा रायो सागको औसत थोक मूल्य प्रतिकिलो ८६ रुपैयाँ तोकिएको छ भने पालुंगुको सागको औसत थोक मूल्य प्रतिकिलो ८६ रुपैयाँ छ। तोरीको सागको मूल्य ५५ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।