स्थानीय तहमा ५० लाखसम्मका योजना पठाइने


बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ५० लाख रुपैयाँसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–५ का भूमीहीन सुकुम्वासी तथा दलितलाई जग्गाधनी प्रमाणपूर्जा वितरणका क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जिल्लाका निश्चित आयोजना र प्रदेश गौरवको आयोजना मात्रै हेर्ने तथा ५० लाख रुपैयाँभन्दा कम लागतका योजना स्थानीय तहमा पठाइने स्पष्ट पारे ।

उनले स्थानीय सरकारले पनि शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रको विकासका लागि योजना बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री जम्कट्टेलले भने, “यो जनताको सरकार हो, त्यसैले यो सरकार सम्पूर्ण भूमिहीन सुकुम्बासी र दलितका साथै उत्पीडित समुदायलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सरकार लागेको छ ।”

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले लालपूर्जा वितरण राम्रो काम भएकाले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे। उनले सङ्घीयता स्थापना भएपछि भएको निकै महत्वपूर्ण काम भएको दाबी गरे । भ्रष्टाचार रोक्न तथा सुशासन कायम गर्नका लागि वर्तमान सरकारले काम गरिरहेको उनको भनाइ छ ।

उक्त जग्गा १० वर्षसम्म बिक्री गर्न नपाइने तर ऋण लिनका लागि धितो भने राख्न भने पाइने जनाइएको छ । बकैया गाउँपालिका वडा नं। १, ४, ६, ७ र ११ मा जग्गाको नाप जाँच भइरहेको पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए । बकैयामा करिब एक सय ५० परिवार दलित र सुकुम्वासीसँग जमिन छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।