तरकारी र फलफूलबाट वार्षिक १६ लाख आम्दानी


सन्धिखर्क नगरपालिका–८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट सात लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् ।

“झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्”, उनले भने, “अहिले घरमै थोकमा रु ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ ।”

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक १६ लाख रुपैयाँभन्दा बढी कमाउने गरेको उनले सुनाए । उनले बेमौसमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गरेका छन् ।

अठार वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन । व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए । तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।