मुस्ताङमा पर्यटक आगमन ४५ प्रतिशतले बढ्यो


मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८\७९ को तुलनामा गत आव २०७९\८० मा मुस्ताङमा ४५ दशमलव ७५ प्रतिशत बढी पर्यटक भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले आव २०७९\८० मा कूल ७१ हजार सात सय सात विदेशी पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिए । “यो सङ्ख्या कोभिडअघि र पछिको पर्यटकीय तथ्याङ्कमा अहिलेसम्मकै उच्च वृद्धि हो”, उनले भने, “आव २०७८\७९ मा कूल ३८ हजार आठ सय ९६ विदेशी पर्यटक भित्रिएका थिए ।”

अघिल्लो आवको तुलनामा ३२ हजार आठ सय ११ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । आर्थिक वर्ष २०७९\८० मा सार्क देशका ५९ हजार तीन सय १० जना र तेस्रो मुलुकका छ हजार सात सय ४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । अघिल्लो वर्ष सार्क देशका ३६ हजार एक सय ५३ जना र तेस्रो देशका दुई हजार सात सय ४३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।

पाँच हजार छ सय ४८ जना अन्नपूर्ण चक्रीय पदमार्गको थोराङ्ला झञ्याङ पारेर गरेर मनाङ हुँदै मुस्ताङ आएका हुन् । थोराङ पास गरेर मुस्ताङ आएका पाँच सय ६० जना सार्क मुलुक र पाँच हजार ८८ जना तेस्रो मुलुकका छन् । अघिल्लो वर्षको तुलनामा अन्नपूर्ण चक्रीय पदमार्ग भएर मुस्ताङ भित्रिने पर्यटकको सङ्ख्या ८७ प्रतिशतले बढेको छ । आव २०७८\७९ मा पाँच हजार छ सय ४८ जना थिए । वैशाख महिनामा सबैभन्दा बढी १६ हजार एक सय ३७ र कम माघ महिनामा छ सय २० पर्यटक आएका थिए ।

अर्ध निषेधित क्षेत्रका रूपमा रहेको उपल्लो मुस्ताङमा तीन हजार तीन सय ८८ जना पर्यटकले भ्रमण गरेका छन् । गत वर्ष अनुकूल मौसम, विपद् नभएको, सडक यातायातको सहज पहुँच, होटल तथा लजको सुविधा हुन थालेपछि मुस्ताङमा पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख सुवेदीले बताए ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।