आत्मनिर्भरता बढाउन आयातमा कर बढाइयो : अर्थमन्त्री


अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइको बताए ।

कृषिमा आधारित देश भए पनि कृषि उत्पादन नभएको बताउँदै उनले देशको उत्पादन बढाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर लागु गरिएको जानकारी दिए ।

“कृषिलाई उत्पादनमुखी बनाउने र कृषि उत्पादन बढाउने उद्देश्य राखी देशमा आयात हुने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएका हौँ”, उनले भने “आलु र प्याजमा हामी करिब करिब आत्मनिर्भर भइसकेका छौँ, यसले कृषि उत्पादकहरू खुशी हुनुभएको छ ।”

अर्थमन्त्री महतले अहिले स्वार्थ समूह बलियो भएको र सबै ठाउँमै उनीहरूकै पकड रहेको उल्लेख गर्दै आफ्नो उच्च मनोबलका कारण मात्र यो दबाब थेग्न सकेको बताए । “संसद्मा हुँदै नभएको कुरा आयो, मैले त्यहीअनुसार स्पष्ट कुरा राखेँ”, उनले भने “म खुला तस्बिरका रूपमा रहेको छु, त्यसकारण मैले त्यहाँ पनि सांसदहरूलाई बुझाएको छु ।”

नेपाली कांग्रेसका केन्द्रिय प्रवक्तासमेत रहेका नेता महतले कुनै व्यक्तिलाई आरोप लागेकै भरमा दोषी भन्न नमिल्ने बताए । नेपाली कांगे्रसका नेता बालकृष्ण खाँणको विषयमा पार्टीका कार्यकर्ताले सोधेको प्रश्नमा उनले कानूनको उल्लङ्घन गर्नेको कांग्रेसले कहिल्यै संरक्षण नगर्ने बताउँदै आरोपकै भरमै मात्र कार्यवाही नगर्ने स्पष्ट पारे ।

“रिस साँध्ने साधन नबनाई यसमा निष्पक्ष छानविन हुनपर्छ भन्ने हाम्रो धारणा हो”, उनले भने “कोही दोषी उम्किनु हुन्न, कोही निर्दोषी फस्नु पनि हुँदैन ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।