तथ्याङ्कमा काठमाडौँ जिल्ला: जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी


राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार ५८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या ५ हजार ६५८ जना छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १९८ जना छ । दश वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर १८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर ४६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व रहेको छ । जिल्लागत रुपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौँमा रहेको छ । काठमाडौँमा प्रतिवर्ग किलोमिटर पाँच हजार १६९ जना रहेका छन् । सबैभन्दा कम जनघनत्व मनाङमा छ । मनाङमा प्रतिवर्ग किलोमिटर तीन जना मात्रै जनघनत्व रहेको छ । काठमाडौँको जनसङ्ख्या हेर्दा १० लाख ३५ हजार सात सय २६ जना पुरुष र १० लाख पाँच हजार ८६१ जना महिला रहेका छन् ।

काठमाडौँमा प्रतिघरधुरी औसत जनसङ्ख्या तीन दशमलव ७५ जना छ । यहाँको जनसङ्ख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको सङ्ख्या दुई लाख २६ हजार छ सय ६० जना छ । जुन काठमाडौँ जिल्लाको कुल जनसङ्ख्याको ११ दशमलव १० प्रतिशत बराबर हो । त्यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसङ्ख्या दुई लाख १५ हजार १२० जना छ । यो जिल्लामा ९० वर्ष माथिका नौ सय ८० जना हुनुहुन्छ । काठमाडौँ जिल्लामा मात्र पाँच लाख ४२ हजार आठ सय ९२ परिवार बसोबास गर्छन् । जसमध्ये तीन लाख ६२ हजार १४७ परिवारको मूली पुरुष र एक लाख ८२ हजार ७२० परिवारको घरमूली महिला रहेका छन् ।

काठमाडौँमा कूल विवाहितको सङ्ख्या १७ लाख ८८ हजार ६२ जना छ । जसमध्ये विवाहित पुरुषको सङ्ख्या आठ लाख ९८ हजार ३५२ र विवाहित महिलाको सङ्ख्या आठ लाख ८९ हजार सात सय १० जना रहेको छ । यहाँ छयालीस हजार ९६ विधवा र नौ हजार ७५५ विदुर रहेका छन् । एक हजार तीन सय ३८ जना पुरुष र दुई हजार आठ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्याङ्कमा उल्लेख छ ।

यो जिल्लामा पाँच वर्षभन्दामाथि उमेरका ५२ हजार ९५२ जना पुरुष र एक लाख ४४ हजार ३९५ जना महिला गरी कुल एक लाख ९७ हजार ३४७ जनाले लेख्न र पढ्न सक्दैनन् । एक लाख ४९ हजार आठ सय ६ जना पुरुष र एक लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन् ।

खाना पकाउनका लागि काठमाडौँका १० हजार २७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै, पाँच लाख २६ हजार ९३१ परिवारले खाना पकाउने ग्यास, चार हजार ६९४ परिवारले बिजुली, पाँच सय ६१ परिवारले बायो ग्यास, एक सय ५७ परिवारले मट्टितेल र २७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन् ।

काठमाडौँका पाँच सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छैनन् भने एक हजार तीन सय पाँच परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन् । काठमाडौँ जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका तीन लाख ४९ हजार २७४ जना पुरुष र पाँच लाख तीन हजार २८१ जना महिला गरी आठ लाख ५२ हजार पाँच सय ५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले उल्लेख गरेको छ ।

पछिल्लो एक वर्षमा कुनैपनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये तीन लाख ७६ हजार नौ सय ५४ जना विद्यार्थी, एक लाख ९८ हजार ६३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार १०३ जना वृद्ध तथा १६ हजार ११ जना शाररिक रुपमा अशक्त छन् । पाँच लाख १२ हजार ४२७ जना जागिरमा रहेको, ३२ हजार ३८८ जनाले अरुलाई जागिर दिइरहेको, दुई लाख ८२ हजार ५५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र एक लाख आठ हजार १३ जनाले पारिपारिव व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ ।

अठार वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या पाँच लाख आठ हजार ३९९ जना रहेकोमा आमाबुबा दुवै अविभावकसँग बस्नेको सङ्ख्या चार लाख दुई हजार १७४, आमासँग मात्रै बस्नेको सङ्ख्या ५५ हजार ३६९, बुबासँग मात्रै बस्नेको सङ्ख्या सात हजार दुई सय, बुबा र सौतेनी आमासँग बस्नेको सङ्ख्या आठ सय ७७, आमा र सौतेनी बुबासँग बस्नेको सङ्ख्या दुई सय २८, अन्य नातेदारसँग बस्नेको सङ्ख्या २८ हजार तीन सय ४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको सङ्ख्या नौ सय ७१ जना रहेको छ ।

काठमाडौँमा दुई लाख ५८ हजार १३८ आवासीय प्रयोजनका, २४ हजार ४७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, तीन हजार १७५ वटा सरकारी, तीन हजार १२५ वटा शैक्षिक, ६ सय ६७ वटा स्वास्थ्य क्षेत्रका, तीन हजार ८९२ वटा उद्योग क्षेत्रका, ६६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, तीन हजार २४ वटा होटल तथा लज, चार हजार २७६ वटा भण्डारण तथा गोदाम रहेका भवन रहेका छन् । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।