रिलायबल नेपालको आईपीओ २७ हजार ९१३ जनाले भरे, अधिकतम ५० कित्तासम्म पाउने

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा जारी गरेको आईपीओमा २७ हजार ९१३ जना वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिएका छन् ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अन्तिम दिन बुधबारसम्ममा २७ हजार ९१३ जना आवेदकबाट २० लाख ११ हजार ८८० कित्ता सेयर खरिदका लागि ५१ करोड ७० लाख ५३ हजार १६० रुपैयाँ बराबरको खरिद माग परेको हो ।  आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्न व्यवस्था थियो ।

धितोपत्र निष्कासन तथा बाँडबाँड निर्देशिका २०७४ बमोजिम प्रत्येक आवेकदलाई १० कित्ताकार दरले र त्यसपछि १०।१० कित्ताले निष्काशित कित्ताले पुगेसम्म बाँडफाँड गरिन्छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त सेयर संख्यालाई समानुपातिक रुपमा वितरण गर्दा ४२.९९ कित्ता पर्न आउँछ । बाँडफाँडमा ४० कित्तासम्म आवेदन गर्नेले माग अनुसार आईपीओ पाउनेछन् भने ५० कित्ता वा सोभन्दा बढी सेयर माग गर्नेमध्ये गोलाप्रथाबाट थप १० कित्ताका दरले अधिकतम ५० कित्तासम्म हात पार्ने देखिन्छ ।

इन्स्योरेन्सले असार २७ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । जसमध्ये सर्वसाधारणमा जारी हुने सेयरको १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष छुट्याइएको छ । उक्त सेयर बाँडफाँड गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई ९६ लाख कित्ता सेयर बिक्री खुला गर्ने छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले प्रिमियमबाट मात्रै १ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ । १ करोड २० लाख कित्ताबाट प्रतिसेयर १०० रुपैयाँका दरले १ अर्ब २० करोड संकलन भएसँगै कम्पनीको चुक्ता पुँजी आईपीओ निष्काशनपछि ४ अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ । यद्यपी कम्पनीले आईपीओ निष्कासनबाट एक अर्ब ७८ करोड प्रिमियम संकलन गर्ने हुँदा बोनसबाटै पनि न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।