मौद्रिक नीतिपछि नेप्से निरन्तर ओरालो‚ २१ सय बिन्दुमा झर्‍यो सूचक

0
Shares

सेयर कारोबार परिसूचक नेप्से साउन १४ गते आइतबार २ हजार १ सय बिन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन (साउन ७ गते) ६३ अंकले बढेर २२२८.७४ बिन्दुमा पुगेको बजार सूचक त्यसपछिका लगातार पाँच कारोबार दिनमा १२७ अंकले घटेको हो ।

मौद्रिक नीति मार्फत सेयर कर्जाको जोखिमभार घटाउने सूचना बाहिरिँदा बढेको बजार ५० लाखभन्दा माथिको कर्जामा पहिलाकै १५० प्रतिशत कायम हुँदा ठूला लगानीकर्ता त्यसप्रति असन्तुष्ट छन् । सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुने र लाभांश प्रस्ताव हुने समयमा निरन्तर आएको गिरावटले यसले बजारमा लगानीकर्ता सशंकित समेत बनेका छन् ।

राष्ट्र बैंकले ५० लाखसम्मको सेयर कर्जामा जोखिमभार १०० प्रतिशत मात्र गरिए पनि ठूला लगानीकर्ता खुशी हुन छैनन् । उनीहरुले १ करोडभन्दा बढी सेयर धितो कर्जा लिएर बजारमा लगानी गरिरहेको हुँदा यो प्रावधानले साना लगानीकर्तालाई राहत दिए पनि ठूलाका लागि लाभ नहुँदा उनीहरु असन्तुष्ट बनेका हुन् । ५० लाख भन्दा बढीको सेयर धितो कर्जामा जोखिमभार १५० प्रतिशत नै कायम छ ।

मौद्रिक नीति पछिको दुई दिनमै ६३ अंकले घट्यो नेप्से, साना लगानीकर्तालाई राहत दिँदा ठूलालाई रुचेन

सेयर बजारका लगानीकर्ताहरुले सेयर धितो कर्जामा एकमुष्ट १०० प्रतिशत जोखिमभार कायम गर्न माग गर्दै आएका थिए । मौद्रिक नीतिबाट सेयर धितो कर्जाको १२ करोडको सीमामा पनि केन्द्रीय बैंकले हेरफेर नगरी यथावत राखेको छ । यसले पनि ठूला लगानीकर्तामैत्री मौद्रिक नीति बन्न सकेको छैन। बजारमा निर्णायक भूमिका ठूला लगानीकर्ताकै हुँदा सानालाई राहत हुनेगरी नीति आएपनि बजार निरन्तर घटिरहेको हो ।

आइतबार पनि सूचक १.२२ प्रतिशत अर्थात २६.१४ अंकले घटेर २०९९.४५ अंकमा अडिएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.१३ प्रतिशत अर्थात ४.५७ अंकले घटेर ३९९.२७ बिन्दुमा झरेको छ ।

आज कारोबार आएका १३ उपसमूह मध्ये म्युचुअल फन्ड बाहेक सबैजसो सबै उपसमूहगत सूचक घटेका छन् । पहिलो खुलामुखी म्युचुअल फन्ड एनआइबिएल सहभागिता फन्डले इकाइधनीलाइ प्रतिफल वितरण गरिसकेको छ । अन्य म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अब छिट्टै लाभांश घोषणा हुने र प्रतिफल पाउने हुँदा लगानीकर्ता म्युचुअल फन्डतर्फ आकर्षित बनेका हुन् । फाइनान्स, होटल र ब्यापार उपसमुहगत सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् ।

दिनभरमा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२८ रुपैयँको सेयर कारोबार भएको छ । यसदिन २६६ स्क्रिप्टका ६८ लाख ६० हजार ४२ कित्ता सेयर ४६ हजार ३२७ वटा संख्यामा खरिद बिक्री भएको हो । नेप्से घटेसँगै गत बुधबार र बिहीबारजस्तै आज आइतबार पनि कारोबार रकम अढाई अर्ब हाराहारीमा नै कायम भएको हो । आज काराबोरमा आएकामध्ये ३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

कारोबारमा १४ करोड ७८ लाख सहित शिव्म सिमेन्टस् अब्बल रहँदा सोल्टी होटल ११ करोड ९९ लाख, एभरेष्ट बैंक १० करोड २० लाख, हिमालन डिष्टिलरी ६ करोड ६ लाख र सूर्यज्योति लाइफको ५ करोड ९५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । कारोबार कित्ताका आधारमा सोल्टी होटल (२ लाख ६८ हजार ७७४ कित्ता) र कारोबार संख्याका आधारमा मोदी इनर्जीको १ हजार ७८१ वटा कारोबार सहित शीर्ष स्थानमा छ ।

मनकामना स्मार्ट र अभियान लघुवित्तको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको बजारमा हिमालयन लघुवित्त, सनराइज ब्लूचिप फन्ड र रावा इनर्जीको सेयरमूल्य घटेको छ । पिपल्स पावर र सुपर माइ हाइड्रोपावरको सर्वाधिक ३ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।