आर्थिक गतविधि बढाउन डा.युवराज खतिवडाले केन्द्रीय बैंकलाई लगाएको जिम्मा पुनः अर्थ मन्त्रालय मै फिर्ता

0
Shares

कोरोना महामारीको समयमा ठप्प रहेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई प्रयोग गरेका थिए । तर, चालु आर्थिक वर्षमा गभर्नर महाप्रसाद अधिकारीले भने चलाखीपूर्ण तरिकाबाट आर्थिक गतिविधि बढाउने जिम्मा पनि अर्थमन्त्रालय मै फिर्ता गरेका छन् ।

तत्कालिन अर्थमन्त्री खतिवडाले कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिन बजेट नभई मौद्रिक नीतिको प्रयोग गरे । केन्द्रीय बैंकले पनि आर्थिक गतिविधि बढाउन भन्दै पुनरकर्जाको व्यवस्था कर्जाको पुनतालिकीकरण तथा पुनरसंरचना र खुकुलो कर्जा नीति लिइ बजारमा पैसा पठायो । त्यसले गर्दा सम्पत्तिको मूल्य मात्र बढाउने भुमिका खेल्यो । सम्पत्तिको मूल्यमा आएको उच्च वृद्धिले उपभोग बढायो ।

उपभोग बढ्दा अस्वभाविक आयातका कारण विदेशी विनिमय सञ्चितिमा दबाब पर्न गयो । त्यसपछि सरकार तथा केन्द्रीय बैंकले आयात निरुत्साहित गर्ने र विदेशी विनिमय सञ्चिति थप घट्न नदिने नीति लिए । यसै बिचमा रुसले युक्रेन माथि आक्रमण गर्यो । रुप युक्रेन युद्धले विश्वब्यापी आपूर्ति संयन्त्रमा असर गर्यो । त्यसले गर्दा पनि आपूर्ति घट्ने र मूल्य बढ्ने क्रम सुरु भयो । नेपाल जस्तो आयातमा आधारीत अर्थतन्त्रलाई त्यसले असर नगर्ने भन्ने कुरौ भएन।

आपूर्तिमा आएको कमीले बढाएको मूल्य वृद्धि नियन्त्रणका लागि विश्वका अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने नीति लिए । सोही अनुसार केन्द्रीय बैंकले पनि बैंकदर ८.५ र नीतिगत दर ७.५ प्रतिशत पु्रयायो । यसले कर्जा लगानीमा सुस्तता आयो । कोरोनाको असर न्यूनीकरण हुन नपाउँदै आन्तरिक तथा बाह्य कारणले आर्थिक गतिविधिमा सुस्तता छायो । त्यसले गर्दा पनि उद्योग धन्दाहरुले लागत कम गर्न उत्पादनमा कटौति गर्न थाले । लगानी विस्तार गर्न सक्ने अवस्था नभएपछि भएको लगानी पनि खुम्च्याउँदै गएपछि अर्थतन्त्र नै मन्दीमा गयो ।

अर्थतन्त्रमा चौतर्फि दबाब परेको अवस्थामा अर्थमन्त्रालयको नेतृत्वमा डा. प्रकाशशरण महत आए । महत आएपछि चालु आर्थिक वर्षको बजेट पनि ल्याए । बजेटमा उनले ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मूल्यवृद्धिको लक्ष्य राखे । तर, सो लक्ष्यलाई सहयोग गर्ने गरी गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति ल्याएनन् । उनले घुमाउरो पारामा आर्थिक वृद्धिको काम सरकारले र आर्थिक स्थायित्वको काम राष्ट्र बैंकले गर्ने सन्देश सहित गत आर्थिक वर्षको भन्दा पनि कसिलो मौद्रिक नीति ल्याए ।

केन्द्रीय बैंकले चालु आवका लागि नीतिगत दर घटाई ६.५ प्रतिशतमा झारेको छ । त्यसैगरी कर्जा लगानी विस्तार गर्न अनुदार हुने गरी मौद्रिक नीति ल्याएको छ । गत आर्थिक वर्षमा १२.६ प्रतिशत निजी क्षेत्रको कर्जा विस्तार गर्ने लक्ष्य राखेकोमा चालु आवमा झनै घटाएर ११.५ मा सिमित गरिएको छ । पछिल्लो समयमा अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर बढाइराखेको अवस्था छ । तर, केन्द्रीय बैंकले भने नीतिगत दर घटाएर आम सर्वसाधारण तथा निजी क्षेत्र भन्दा पनि बैंकहरुको पक्षमा काम गरेको स्पष्ट हुन्छ । साथै मुद्रास्फिती ६.५ प्रतिशतको सीमा भित्र राख्नका लागि ब्याजदर घटाएर सम्भव हुने देखिदैन । साथै आर्थिक गतिविधि बढाउनका लागि कर्जा नीति खुकुलो हुनुपर्नेमा त्यस्तो गरेको देखिदैन । त्यसका साथै बैंकहरुलाई पुँजी कोषको भार थप गरेर झनै कर्जा लगानीलाई साघुरो बनाएको छ ।

अर्थमन्त्रालयले विगतमा केन्द्रीय बैंकलाई बोकाएको भारी चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत फिर्ता भएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थशास्त्री नर बहादुर थापाले बताए । “सरकारसंग धेरै औजार हुने भएकाले आर्थिक वृद्धिको काम सरकारले र आर्थिक स्थायित्वको काम केन्द्रीय बैंकले गर्ने गरी मौद्रिक नीति आएको छ,” थापाले भने,“यो केन्द्रीय बैंकले भन्दा पनि अन्तराष्ट्रिय मुद्रा कोषको भर्सन हो ।” विस्तारीत कर्जा सुविधा कार्यक्रम कायम रहँदासम्म अन्तराष्ट्रिय मुद्रा कोषले वित्तीय स्रोतको दुरुपयोग हुन नदिने थापाको बुझाई छ ।

केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रणका लागि सरकारले अनुगमन प्रभावकारी बनाउनु पर्ने तर्क मौद्रिक नीतिमा राखेको छ । तर, मूल्य वृद्धि नियन्त्रण गर्न अघि सर्नु पर्ने केन्द्रीय बैंक नै हो । न्यून मूल्य वृद्धि र स्थिर राख्ने केन्द्रीय बैंकको उद्देश्य नै हो । नीतिगत दर घटाउने र कर्जा नियन्त्रण गर्ने मौद्रिक नीति मार्फत मूल्य वृद्धि नियन्त्रण हुने सम्भावना न्यून हुन्छ । त्यसले गर्दा पनि केन्द्रीय बैंकले सरकारलाई अनुगमन बढाउन भनेको हुनुपर्छ ।

त्यसैगरी केन्द्रीय बैंकले आर्थिक गतिविधि विस्तारका लागि पनि सरकारले पुर्वाधार निमार्णका क्षेत्रमा खर्च बढाउनु पर्ने तर्क गरेको छ । साथै सरकारले बजेट खर्च बढाउने गरी ल्याएको मागर्दशनको प्रभावकारी कार्यान्वयन भएमात्र आर्थिक गतिविध विस्तार हुने मौद्रिक नीतिमा उल्लेख छ । तर, सरकारले भने चालु खर्च बाहेक पुँजी निमार्णमा खर्च गर्न नै नसकेको थापाको भनाइ छ । यसले गर्दा पनि आर्थिक गतिविधि बढाउन सहज कर्जा उपलब्धता भन्दा पनि सरकारी खर्च बढाएर गर्नुपर्ने गरी मौद्रिक नीति आएको उनको भनाई छ ।

“सरकार खर्च सक्ने अवस्थामा छैन, प्रत्यक्ष बैदेशिक लगानी तथा विदेशी सहायता घट्दो छ,” उनले भने,“साधारण खर्च बाहेक पुँजी निर्माणका लागि अहिले सरकारको ल्याकत नै छैन् ।” सरकारले पुर्वाधार तथा पुँजी निर्माणमा लगानी गर्न नसक्ने र खर्चको सदुपयोगीता पनि नभएकाले अहिले अवस्था जटिल रहेको उनको बुझाई छ । कोरोनाको अवधिमा केन्द्रीय बैंक उत्साहित हुँदा १४ महिनासम्म के हुने हो भन्ने अवस्था सृजना भएको बताउँदै उनले भने,“विगतको कमी कमीजोरीबाट केन्द्रीय बैंकले सिकेको हुनुपर्छ ।”

उपभोक्ता मुद्रास्फीतिलाई मुख्य रुपमा आन्तरिक उत्पादन तथा माग, आयातीत वस्तुहरुको मूल्य, नेपाली रुपैयाँको विनिमय दर र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनले निर्धारण गर्ने गरेको मौद्रिक नीतिमा उल्लेख छ । तर, मूल्य वृद्धिलाई लक्षित स्तरमा राख्न आन्तरिक उत्पादन सुदृढ बनाउने, माग र आपूर्तिबीच सन्तुलन मिलाउने गरी नीतिगत कार्यदिशा तय गर्ने र बजार मूल्य अनुगमनलाई प्रभावकारी बनाई कृत्रिम मूल्य वृद्धि हुन नदिने उपाय अवलम्बन गर्न मौद्रिक नीतिले सुझाएको छ ।

बाह्य क्षेत्रमा सुधार भई ब्याजदर घट्दो क्रममा रहेकोले निजी माग विस्तार हुने र यसबाट आर्थिक क्रियाकलाप चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ । बाह्य रोजगारीमा जानेको संख्या बढेको हुनाले विप्रेषण आप्रवाह पनि सन्तोषप्रद रहने अनुमान छ । तर, उल्लेख्य संख्यामा युवाहरु वैदेशिक रोजगारी र अध्ययनको लागि विदेशिने क्रम बढेकोले आन्तरिक माग केही हदसम्म प्रभावित भएको छ ।

आर्थिक क्रियाकलापलाई गति दिन थोक तथा खुद्रा व्यापार, खानी तथा उत्खनन, उत्पादनमूलक क्षेत्रलगायत अर्थतन्त्रका अन्य क्षेत्रसँग बलियो सम्बन्ध भएको निर्माण क्षेत्रलाई चलायमान बनाउन पूर्वाधारलगायत विकास निर्माणमा समयमा नै पुँजीगत खर्च हुने व्यवस्था मिलाउनु पर्ने औल्याइएको छ । केन्द्रीय बैंकले आर्थिक गतिविधि विस्तार तथा मूल्य वृद्धि नियन्त्रणमा सरकारको भुमिकामा भर पर्ने भन्दै विगतको गल्ति सच्याउने चलाखि अपनाएको स्पष्ट हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ साउन २०८०, आइतबार  १७ : ३७ बजे