त्रिवेणी ग्रुपले किन्यो गोल्छाको लिलामीमा रहेको श्रीराम सुगर मिल

0
Shares

गोल्छा र विशाल ग्रुपको लगानीमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले खरिद गरेको छ ।

रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडमा त्रिवेणी ग्रुपबाट रामचन्द्र संघाई तथा विरेन्द्र संघाई तथा शिवशक्ति ग्रुपको लगानी रहेको छ । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले नेपाल बैंकले लिलामीमा निकालेको श्रीराम सुगर मिल्सको मेसिनरी उपकरण ४३ करोड ६० लाख रुपैयाँमा किनेको हो ।

आर्थिक संकटका कारण श्रीराम सुगर मिल्सले ऋण नतिरेपछि नेपाल बैंकले लिलामी प्रक्रिया अघि बढाएको थियो । गत जेठ ३२ मा उद्योग लिलामी प्रक्रिया अघि बढाएकोमा साउन ४ गतेसम्म बोलपत्र पेस गर्न आह्वान गरेको थियो । सामान लैजान ३५ दिनको समय दिएको छ । अब रिलायन्सले रकम भुक्तानी दिएर लैजान बाँकी रहेको छ ।

बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको थियो । त्रिवेणी र शिवशक्ति ग्रुपले संयुक्त लगानीमा नयाँ मिल्स ‘शिवशक्ति सुगर मिल्स’ सञ्चालनमा ल्याउन लागेका हुन् । शिवशक्ति तथा त्रिवेणी ग्रुपको संयुक्त लगानीमा बारामा रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेड सञ्चालनमा छ ।

श्रीराम सुगरमा नेपाल बैकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । ब्याजसमेत जोड्दा अहिले श्रीराम सुगर मिलले बैंकहरुलाई तिर्न बाँकी रकम २६ करोड रुपैयाँ माथि छ ।

विसं २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग बन्द हुँदासम्म मिल्स २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान थियो ।

श्रीराम सुगर मिल्सको ३० लाख ४६ हजार कित्ता नेप्सेमा सूचीकृत

सर्वसाधारणलाई सेयर निष्कासन गरेको श्रीराम सुगर मिल्स नेप्सेमा सूचीकृत छ । नेप्सेमा सूचीकृत उद्योगको ३० लाख ४५ हजार ९९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।

चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ रहेको मिलमा ९१ प्रतिशत संस्थापक लगानी छ भने ९ प्रतिशत (२ लाख ७४ हजार १३९) सेयर सर्वसाधारणको छ । मिल बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा छ ।

नेप्सेमा सूचीकृत भएपनि श्रीरामले कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको छैन । रौतहट गरुडा नगरपालिका ६ महम्मदपुरमा रहेको उद्योगको नाममा ८० बिघा जग्गा समेत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।