पाँचौं दिनमा बढ्यो नेप्से, कारोबार दुई अर्ब मुनी झर्दा शिवमको सर्वाधिक कारोबार

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य अंकको वृद्धि भएपनि कारोबार रकममा गिरावट आएको छ । पछिल्ला ५ कारोबार दिनदेखि लगातार घटेको बजारमा पाँचौं कारोबार दिनमा सूचक सुधारिएपनि कारोबार रकम भने २ अर्बभन्दा तल झरेको हो ।

चार दिनमा नेप्से १२७ अंकले घटेको थियो । नेप्से उकालो लागेपनि बजारमा १ अर्ब ८५ करोड ८० लाख २ हजार २७५ रुपैयाँको कारोबार भएको छ । ८ करोड ८ लाख माथिको कारोबारमा हुँदै यसदिन शिवम् सिमेन्टको शीर्ष कारोबार भएको छ ।

नेप्से परिसूचक ५.८४ अंकले बढ्दा २१०६.१८ विन्दुमा बन्द हुन पुगेको हो । यसदिन २६२ कम्पनीका ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर ४० हजार ३०३ वटा संख्यामा खरिद बिक्री भएको हो । अघिल्लो कारोबार दिन आइतबार २ अर्ब ५० करोडको सेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटा परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । आज हाइड्रोपावर, लघुवित्त र म्युचुअल फन्डको सूचकमा गिरावट आएको छ । ब्यापार सर्वाधिक १.९७ प्रतिशतले बढेको छ भने फाइनान्स १.२६ प्रतिशतले बढेको छ ।

शिवम् सिमेन्ट्सको सेयर मूल्य २ रुपैयाँ बढेर उच्च कारोबार भएको छ । लगानीकर्ताको आकर्षण कायमै रहँदा कम्पनीको ८ करोड ८ लाख माथिको कारोबार भएको हो । त्यस्तै, सोल्टी होटल ५ करोड ४७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ९१ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख, र एनआईसी एशिया बैंकको ४ करोड ३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । कारोबार कित्ताका आधारमा लक्ष्मी उन्नति कोषको १ लाख ९० हजार ५२५ इकाई कारोबारमा आउँदा मोदी इनर्जीको सर्वाधिक २ हजार ३२८ वटा कारोबार भएको छ ।

सनराइज ब्लूचिप फन्डको इकाई सर्वाधिक ७.१० प्रतिशतले बढेर ८ रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको ५.७९ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको ३.७१ प्रतिशत, लक्ष्मी उन्नति कोषको ३.१७ र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्डको २.९९ प्रतिशतले मूल्य बढेको छ ।

यसदिन वीन नेपाल लघुवित्तको ४.३१ प्रतिशतले घटेको बजारमा ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६।८७ को ४.३१ प्रतिशत, एशियन हाइड्रोपावरको ३.७१ प्रतिशत, मेन्छियम हाइड्रोपावरको २.९५ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको २.८७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ८ अर्ब ५९ करोड रुपैयाँले बढेर ३० खर्ब ९५ अर्ब ६५ करोड ८१ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।