ट्रेजरीको डिस्काउन्ट रेट एक प्रतिशत विन्दुले बढ्यो


वित्तीय प्रणालीमा कर्जाको माग तत्काल नबढ्ने भएपछि बैंकहरूले ट्रेजरीमा डिस्काउन्ट रेट बढाएर लगानी गरेका छन् । सोमबार निष्कासन भएको २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरीमा बैंक तथा वित्तीय संस्थाले एक प्रतिशत बिन्दुले डिस्काउन्ट रेट बढाएका हुन् ।

गत आर्थिक वर्षको अन्तिममा उच्च बढेको बैंक तथा वित्तीय संस्थाको निषेप नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै घट्न थालेको छ । नियामकीय सुविधा निरन्तरता नभएपछि बैंक वित्तीय संस्थाको निक्षेप करिब डेढ खर्बले घटेको हो । तर, पनि करिब साढे ३ खर्ब लगानी गर्न सक्ने अवस्थामा बैंक वित्तीय संस्था रहेका छन् । 

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहको नीतिलाई खुकुलो नबनाएपछि कर्जा विस्तार हुने अवस्था छैन । साथै कसिलो पुँजीकोष अनुपात र नयाँ व्यवस्था गरीएको थप पुँजी कोषको व्यवस्थाले पनि बैंकहरुलाई खुलेर कर्जा लगानी बढाउने अवस्था दिँदैन । कर्जामा बैंकहरू खुल्न नसक्ने गरी गत आर्थिक वर्षको भन्दा कसिलो मौद्रिक नीति आएपछि बैंक वित्तीय संस्थाले कर्जाको माग बढ्ने वातावरण बढ्ने अपेक्षा नगरेको अवस्था छ । 

केन्द्रीय बैंकले ब्याजदर घटोस् भनेर नीगित दरमा ०.५ प्रतिशत बिन्दुले घटाएर ६.५ प्रतिशतमा झरेको छ । तर, केही बैंकहरुले भने साउन महिनाका लागि निक्षेपको ब्याजदर बढाएको अवस्था छ । त्यसले गर्दा पनि ट्रेजरीको डिस्काउन्ट रेट बढेको हुन सक्ने देखिन्छ । आगामी दिनमा कर्जाको माग बढ्न गएपछि साउनको महिनामा तुलनात्मक रुपमा कम हुन्छ । साउनमा कर्जाको माग नहुने भएपछि डिस्काउन्ट रेट बढाएर भएपनि ट्रेजरीमा लगानी गर्न खोजेको स्पष्ट हुन्छ ।

सोमबार निष्कासन भएको सबै अवधिका ट्रेजरी बिलस्को डिस्काउन्ट रेट बढेको छ । तर, १८२ दिने ट्रेजरीको भने एक प्रतिशत बिन्दुभन्दा पनि धेरैले बढेको राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले साढे ६ प्रतिशत अर्थात नीतिगत दर भन्दा पनि धेरै डिस्काउन्ट रेट बोल गरेको अवस्था छ । 

सोमबार निष्कासन भएको ८ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.३२३१ प्रतिशत कायम भएको छ । यो औसत दर गत साउन २ गतेको भन्दा धेरै हो । साउन २ गते २८ दिने ट्रेजरीको औसत  डिस्काउन्ट रेट ४.१६२९ प्रतिशत रहेको थियो । उक्त ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम ५.८६९९ र न्यूनतम ४.६१८३ प्रतिशत माग गरेका थिए । 

सरकारले पुरानो ऋणको साँवा तिर्न नसकेपछि २१ अर्ब १० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरीलाई नवीकरण गरेको छ । सोमबार सबै प्रकारका ट्रेजरीमा अधिक माग भएको राष्ट्र बैंकले जनाएको छ ।  

त्यसैगरी सोमबारको ८ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम ६.४१०७ र न्यूनतम ४.७२३९९ प्रतिशत माग गरेका छन् । यसको औसत डिस्काउन्ट रेट ५.७८९४ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट भन्दाअघि साउन २ गतेको भन्दा धेरै हो । साउन २ गते गते ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.०८९५ प्रतिशत थियो ।

केन्द्रीय बैंकले सकारको आन्तरिक ऋणका लागि निष्कासन गरेको ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम ६.६००० र न्यूनतम ५.०२०१ प्रतिशत माग गरेको थियो । यसको औसत डिस्काउन्ट रेट ६.२००७ प्रतिशत कायम भएको छ । यो असार २६ गतेको तुलनामा एक प्रतिशत विन्दुले धेरै हो । असार २६ गते १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.६२१५ प्रतिशत थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।