भारतले चामल आयातमा प्रतिबन्ध लगाएसँगै कालोबजारी बढ्यो, नियमनकारी निकाय मुकदर्शक

0
Shares

भारतले सेतो बासमती चामल बाहेकका अन्य सबै चामल निर्यातमा प्रतिबन्ध लगायसँगै नेपाली बजारमा कालोबजारी बढेको छ । भारतले निर्यात रोकेसँगै ब्यापारीहरुले मौज्दात चामलमा अर्को मूल्य बढाएका हुन् ।

भारतले उचित मूल्यमा पर्याप्त घरेलु उपलब्धता सुनिश्चित गर्न भन्दै २० जुलाई अर्थात साउन ४ गतेदेखि चामत निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतको वाणिज्य विभागले जारी गरेको सूचनामा बासमती बाहेकका चामलको पर्याप्त उपलब्धता सुनिश्चित गर्न तथा आन्तरिक बजारमा मूल्यवृद्धि नियन्त्रण गर्न चामल निर्यात रोकिएको उल्लेख छ ।

नेपालमा आवश्यक पर्ने चामलको ठूलो हिस्सा भारतबाट नै आयात हुने गरेको छ । यसरी भारतले नेपालमा चामल निर्यात रोक्दा नेपालका व्यापारीहरुले भने आफ्नै हिसाबले मूल्य वृद्धि गरिरहेका छन् ।  हाल नेपालको स्थानीय बजारमा दुई हजार पर्ने चामललाई व्यापारीले २५ सय रुपैयाँसम्म लिन थालेका छन् । यसले मध्यम वर्गीय उपभोक्तालाई झनै असर गरिरहेको छ । अहिले २५ सयमा किन्न पाइरहेको चामल पनि व्यापारीले लुकाउँदै गए भने त्यही चामल किन्न पनि समस्या हुने विज्ञहरु बताउँछन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम महर्जन सरकारले कालोबजारीलाई नियन्त्रण गनुपर्ने बताउँछन् । कालोबजारी नियन्त्रण गर्नको लागि सरकारले नै बेवास्ता गरेको उनको आरोप छ । उनी भन्छन्, ‘हामीले पटक पटक सरकारलाई कालोबजारी नियन्त्रण गर्न पहल गरेका छौं तर सरकारले नै बेवास्ता गर्छ, सरकारले स्रोत साधन उपलब्ध गराउँदैन ।’

आफ्नै खर्चमा कालोबजारी नियन्त्रण गर्न सम्भव नभएको उनको भनाइ छ । भारत बाहेक नेपालमा अन्य देशहरु जस्तैः चीन, इन्डोनसिया, जापान जस्ता देशबाट पनि चामल आयात हुने गरेको छ । तर भारतले चामल आयात रोक्ने बित्तिकै कालो बजारी सुरु हुने गरेको छ । किनकी चामल आयातको सबैभन्दा ठूलो हिस्सा भारतले नै ओगटेको छ । गत आर्थिक वर्ष २०७९\८० मा मात्र भारतबाट करिब १५ अर्ब रुपैयाँँ बराबरको चामल आयात भएको छ । जबकी अन्य देशबाट १ अर्ब बराबरको मात्र चामल आयात हुने गरेको तथ्याङ्क छ ।

नेपाल चामल, तेल, दाल उत्पादक संघका उपाध्यक्ष राम थापा भारतले चामल आयातमा प्रतिबन्ध लगाए लगतै त्यसले नेपालमा ठूलो असर गरेको बताउँछन् । सरकारले नेपालमा पनि उत्पादन गर्ने वातावरण पनि नबनाइदिने र बाहिरबाट पनि बेला–बेला यस्तै समस्या आउने हुँदा नेपाली मर्कामा पर्ने गरेको उनको भनाई छ । यो समस्याको सम्बन्धमा उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजाललाई मंगलबार विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

नेपालमा भारतले वार्षिक ६ लाख मेट्रिक टन धान मात्रै बिक्री गर्ने गरेको छ । तर नेपालले त्यो धान पनि उपयोग गरिसकेको अवस्था छ । नेपालले अब भारतबाट १० देखि २० टन मात्र धान ल्याउन बाँकी रहेको अवस्थामा चामलको निर्यात पनि रोकिँदा त्यसबाट भोकमरीको अवस्था पनि आउनसक्ने जोखिम रहेको उनले बताए ।

भारतले विश्वमा नै चामल निर्यात गर्ने गरेको छ । भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा मात्र नभइ संसारभरि नै खाद्यान्नको मूल्य बढ्ने संकेत देखिएको छ । किनकी भारतले १६५ देशमा चामल निर्यात गर्दै आएको छ ।

उद्योग   तथा आपूर्ति मन्त्रालयका प्रवक्ता उर्मिला केसीका अनुसार अहिले भारतबाट चामल आयात ठप्प छ । भारतबाट वार्षिक झण्डै २० अर्ब रुपैयाँ बराबरको धान आयात हुने गरेको उनले बताइन् । भारतले खाद्य सुरक्षाको हिसाबले बन्देज लगाएको भएर तत्काल भारतसँग छलफल नगरिएको उनको तर्क छ । भारतले लगाएको बन्देज नेपालमा मात्र नभई विश्वमा नै लगाएको भन्दै उनले भनिन्, ‘यो समस्याको समाधान छिट्टै हुन्छ, केही दिनमा सरोकारवाला निकायहरुबीच छलफल पनि हुँदैछ । हामीले भारतको निर्णयलाई गम्भिरतापूर्वक लिएका छौं’ ।

भारतीय वाणिज्य विभागको सूचनामा भारत सरकारले अनुमति दिएका देशमा भने चामल निर्यातलाई छूट दिन सकिने उल्लेख भएको र अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

उद्योग तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्धिपक्षीय तथा क्षेत्रिय व्यापार महाशाखाका प्रमुख रामचन्द्र तिवारीले चामल निर्यात गर्न नसक्ने पत्र भारतले पठाएको बताउँदै  उनले भने, ‘भारतले आफ्नो हितको लागि गरेको निर्णयले नेपाललाई असर गरेको छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।