औषधि उत्पादक नेशनल हेल्थकेयरले क्षमता विस्तारका लागि १ अर्ब कर्जा लिँदै

0
Shares

नेशनल हेल्थकेयर प्रालिले आफ्नो क्षमता विस्तारका लागि एक अर्ब रुपैयाँ कर्जा लिने भएको छ । कम्पनीले नयाँ औषधी उत्पादन पलान्ट निर्माण गर्नका लागि कर्जा लिने भएको हो ।

एक अर्ब ४० करोड लागतमा कम्पनीले नयाँ औषधी उत्पादन प्लान्ट निर्माण गरिरहेको छ । सोही क्रममा कम्पनीले एक अर्ब बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सी केयर नेपालले ५० करोड बराबरको दीर्घकालीन कर्जाका लागि ए र ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–१ रेटिङ गरेको छ ।

सन् १९९६ मा स्थापना भएको फर्मास्यूटिकल कम्पनीले १५ प्रकारका रोगहरुको ३६५ भन्दा धेरै औषधीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषतः एन्टी–माइक्रोबियल, एन्टी–डायबेटिक, श्वासप्रश्वास, एन्टी–ब्याक्टेरियल औषधीहरुको उत्पादन गर्दै आएको छ ।

सन् २०२२ मा कम्पनीले ३ अर्ब १९ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा २ अर्ब ६२ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेको हो । कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि अन्य वित्तीय सूचांकमा भने उत्साहजनक देखिएको छैन ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२२ मा ३.२१ प्रतिशत विन्दुले खुम्चिएर कुल सञ्चालन आम्दानीको २८.४१ प्रतिशत पुगेको छ । जुन सन् २०२१ मा ३१.६२ प्रतिशत थियो । कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमतामा सकरात्मक सुधार देखिएको छ । सन् २०२१ मा कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १४६.३५ प्रतिशत थियो भने सन् २०२२ मा उक्त क्षमता १६०.३ गुणा पुगेको छ ।

नयाँ प्लान्टको स्थापनासँगै कम्पनीको औषधी उत्पादन बढ्ने हुँदा आम्दानी बढ्ने देखिन्छ । तथापि पछिल्लो समयमा नेपालमा फर्मास्यूटिकल कम्पनीहरुको सङ्ख्या बढेको छ । जसकारण प्रतिस्पर्धामा अब्बल उतिर्नु सकेमा कम्पनीको आम्दानी आगामी दिनमा बढ्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।