सन नेपाल लाइफको आईपीओ अधिकतम ४० कित्तासम्म बाँडफाँड हुने

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिकरोजगारीमा गएकाहरुलाई निष्कासन गरेको आईपीओ अधिकतम ४० कित्तासम्म बाँडफाँड हुने देखिएको छ । आईपीओमा माग भएको आवेदन संख्या र निष्काशित कित्ताको आधारमा यस्तो नतिजा देखिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अन्तिम दिन साउन १५ गतेसम्मको तथ्याङ्क अनुसार २८ हजार ७४४ वटा आवेदन परेको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो ।

इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले प्रि अलटमेन्ट सम्पन्न गरी सोमबार बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ १० कित्ताकादरले बाँडफाँड गर्दा ३० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ४० कित्ता वा सो भन्दा बढी माग गर्ने आवेदकको हकमा गोलाप्रथाबाट थप १० कित्ताका गरी अधिकतम ४० कित्तासम्म सेयर प्राप्त गर्ने अवस्था देखिएको हो । अन्तिम दिनको आवेदक र सेयर निष्कासनको अनुपात हेर्दा प्रति आवेदक औषतमा ३३.४० कित्ता पर्न आउँछ ।

कम्पनीले साउन १ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको हो ।

अब दोस्रो चरणमा निष्सकान हुने ८६ लाख ४० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित हुनेछ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।