कागतीले पाएन बजार


तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे ।

विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”

पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका छन् । गत वर्ष पहिलोपटक ७० हजार रुपैयाँको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् ।

“उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष ७० हजार रुपैयाँको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ”, उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ ।” उनका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।”

ठकुरीले गत वर्ष प्रतिकेजी ८० मा बिक्री गरेका थिए । यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ । “चितवनमा बुझ्दा किलोको ६० रुपैयाँ रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु । सबैभन्दा बढी आउँदा एक सय रुपैयाँसम्म पनि आएको छ”, उनको भनाइ छ ।

विसं २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी विसं २०७० मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उहाँले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गर्नुभएको थियो । हालसम्म १५ लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ ।

उनको कागती बगैँचामा पाँच सय बोट छन् । कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए । कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उनले बताए ।

कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको उनी बताउँछन् । कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ । उनले भने, “बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ । कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमै खर्च हुन थाल्यो ।”

बाटोको समस्या समाधानका लागि गाउँपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । कृषिमा लागेका युवालाई स्थानीय तहले प्रोत्साहन नगरेको उनको अनुभव छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले ठकुरीले उत्पादन गरेका कागतीले बजार नपाउँदा दुःख लागेको बताउँदै बजारीकरणका लागि आफूले पनि सहयोग गरेको बताए । “उत्पादन गरायो बजार नै पाउन गाह्रो, बाटो पनि छैन, कृषि सडक कृषि उत्पादन नभएको ठाउँमा लगियो”, उनले भने, “कागतीको बजारीकरणका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु ।” तिवारीले कागतीखेती कृषकलाई बगैँचासम्मै पुगेर आवश्यक परामर्श दिने गरेको बताए ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९\०८० मा जिल्ला २० लाख रुपैयाँ बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ साउन २०८०, आइतबार  १२ : ४८ बजे