आर्थिक गतिविधि नबढ्दा पनि कसरी घट्यो बैंकहरुको खराब कर्जा ? वित्तीय प्रणालीको जोखिम घटेकै हो त ?

0
Shares

वाणिज्य बैंकहरुमा कर्जा समयमा नउठ्ने तथा ‘डिफल्ट’ हुने समस्यामा केही सुधार आएको देखिएकोे छ । गत आर्थिक वर्षको चैतसम्ममा ३.२३ प्रतिशत रहेको औसत खराब कर्जा गत असारसम्ममा घटेर २.७९ प्रतिशतमा झरेको हो ।

आर्थिक गतिविधिमा आएको सुस्तताले बैंकहरुका ऋणीलाई समस्यामा पारेको थियो । समग्र बजारको मागमा आएको कमीका कारण आर्थिक गतिविधी नै सुस्त भएपनि बैंकहरुका ऋणीलाई व्यवसायलाई निरन्तरता दिँदै कर्जाको सावाँ ब्याज भूक्तानी गर्न निकै समस्या परेको थियो । समग्र बजारका कारण ऋणीको आय प्रभावित भएपछि बैंकरहरु समेत खराब कर्जा उच्च दरमा बढ्न सक्ने त्रासमा थिए।

तर, गत आर्थिक वर्षको सुरुवात देखि बढेको खराब कर्जाको अंश अन्तिम त्रैमासमा आएर केही व्यवस्थापन भएको देखिन्छ । गत आर्थिक वर्षमा चैत मसान्तको तुलनामा असार मसान्तमा खराब कर्जा घटेपछि बैंकहरुको नाफामा समेत सुधार आएको देखिन्छ । आर्थिक गतिविधि विस्तार नभैसक्दा पनि बैंकहरुको खराब कर्जा कसरी घट्यो भन्ने प्रश्न उठ्न सक्छ । यसका लागि बैंकहरुले गत आर्थिक वर्षको अन्त्यमा कर्जा असुलीलाई विशेष जोड दिएपछि सुधार आएको बैंकरहरु बताउँछन ।

ऋणीको नगद प्रबाहमा सुधार नआइसकेको भएपनि बैंकहरुको खराब कर्जामा आएको सुधारले जोखिम समाप्त भएको भन्न नमिल्ने एक बैंकरले बताए । “अहिले खराब कर्जा घटेको भएपनि आगामी दिनमा बढ्दैन भन्न सकिने अवस्था छैन,” उनले भने,“वित्तीय प्रणालीको खराब कर्जा सामान्य घट्दा नै ऋणीको कर्जा भुक्तानी क्षमता सुधार आएको भन्न नसकिने भएकाले आगामी दिन बढ्न सक्ने जोखिम कायम नै छ ।”

गत आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा सामान्य घटेको देखिएपनि उठ्न बाँकी रहेको कर्जाको ब्याजको हिस्सा भने ठूलो मात्रामा रहेको छ । बैंकहरुले उठ्न बाँकी रहेको ब्याजलाई पनि आम्दानी मानेर नाफा देखाएका छन । तर, नाफाको अनुपातमा वितरण योग्य नाफा निकै कम रहेको देखिन्छ । त्यसैले पनि खराब कर्जा बढ्ने जोखिम अझै रहेको स्पष्ट हुन्छ । त्यसका साथै केही बैंकहरुले भने विगतको अभ्यासलाई पनि निरन्तरता दिदै कर्जाका लागि कर्जा दिने र खराब कर्जालाई सक्रियमा परिणत गर्न लगाएकाले पनि केही सुधार आएको हुन सक्ने देखिन्छ । गत आर्थिक वर्षको अन्त्यमा भएको कर्जा विस्तारलाई हेर्दा विगतको तुलनामा नभएपनि त्यो अभ्यास बन्द भयो भन्न सकिने अवस्था छैन ।

कोरोना महामारी तथा विश्व अर्थतन्त्रमा देखिएको माग आपूर्तिको समस्याले नेपाली अर्थतन्त्र सुस्त नै भयो । त्यसले नेपाली अर्थतन्त्रको गतिविधिलाई नै सुस्त बनायो । फलस्वरुप बैंक वित्तीय संस्थामा कर्जा माग बढ्न सकेन । ब्याजदर बढ्न गयो । उच्च ब्याजदरका कारण उत्पादन बढाउन नसक्ने र बजारको मागमा समेत कमी आएपछि उत्पादन बढाएपनि उपभोग नहुने समस्याले ऋणीको आम्दानीमा असर पुग्न थाल्यो । ऋणीको आम्दानीको चक्र बिग्रेपछि बैंकहरुको कर्जा असुली नहुने तथा ‘डिफल्ट’ हुने समस्या बढ्न थाल्यो । कर्जा असुलीमा समस्या देखिएपछि हतासमा देखिने गरेका बैंकहरु गत आर्थिक वर्षको चौथो त्रैमासमा थोरै घटाउन सफल भएपनि जोखिम नै न्यूनिकरण गरेको अवस्था भने होइन ।

Bank Ashad 2080 NPL Chaitra 2079 NPL  Ashad 2079 npl percent
Kumari Bank Ltd. 4.77 3.97 1.11
Himalayan Bank Ltd.  4.57 4.56 1.59
Nepal Investment Mega Bank  4.35 3.94 1.49
Prime Commercial Bank  4.23 3.06 1.77
Prabhu Bank  4.16 3.48 1.86
Nabil Bank  3.2 3.87 1.62
Citizens Bank International  3.19 3.98 2.21
GlobalIME Bank Ltd. 3.08 3.96 1.28
Rastriya Banijya Bank  2.95 3.88 2.09
Nepal Bank  2.85 4.16 1.83
Laxmi sunrise Bank  2.81 1.82 0.89
NMB Bank Ltd. 2.72 2.96 1.45
Agriculture Dev. Bank  2.48 4.2 2.09
Nepal SBI Bank Ltd.  2.43 0.97 0.15
Machhapuchhre Bank Ltd. 2.01 2.37 1.07
Siddharth Bank Ltd. 2.01 3.95 1.07
Sanima Bank Ltd. 1.3 2.26 0.33
Standard Chartered Bank 1.17 0.9 0.59
NIC Asia Bank Ltd.  0.8 0.85 0.53
Everest Bank Ltd.  0.79 0.7 0.12

गत आर्थिक वर्षको चौथो त्रैमासमा वित्तीय प्रणालीको न्यून तरलतामा आएको सुधारले पनि खराब कर्जा घट्न मद्दत गरेको पूर्व बैंकर परशुराम कुवँर क्षेत्रीले बताए । “गत आर्थिक वर्षको अन्तिम महिनामा घरजग्गा तथा सेयर कारोबार देखिएको सुधारले पनि खराब कर्जा घटाउन मद्दत गरेको छ,” क्षेत्रीले भने,“खराब कर्जा घटेको देखिएपनि बैंकहरुको उठ्न बाँकी भएको ब्याज उच्च रहेको हुनाले अझै पनि बढ्ने खतरा उत्तिकै छ ।” गत आवको अन्तिममा खासै कर्जा विस्तार नभएको र चालु आव सुरु भएपनि निरन्तर कर्जा घटेको हुनाले पनि विगतमा जस्तो कर्जाका लागि कर्जा दिने अभ्यासमा निकै कमी आएको हुन सक्ने उनको बुझाई छ ।

तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको खराब कर्जाको अंश दोब्बरले धेरै हो । अघिल्लो आवमा बैंकहरुको औसत खराब कर्जा १.२५५ प्रतिशत थियो। चालु आवको असारसम्मको औसत खराब कर्जा २.७९९ प्रतिशत छ ।

गत आवको चैतको तुलनामा असार मसान्तसम्ममा नबिल बैंक, एनआइसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, सानिमा बैंक तथा सिद्धार्थ बैंकले खराब कर्जाको अंश घटाउन सफल भएका छन । तर, सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, एसबिआई बैंक, कुमारी बैंक, प्रभू बैंक लगायत केही बैंकहरुको खराब कर्जा बढेको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।