गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो । आव २०७८/७९ मा दुई लाख ८२ हजार १८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार ८४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब १४ प्रतिशतले कमी हो ।
मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८/७९ मा ६२ हजार २६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार ९८७ मेट्रिक टन मासु उत्पादन भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा सीमित भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलब ७२ प्रतिशतले गिरावाट आएको उनको भनाइ छ ।
“दानाको मूल्यवृद्धि र चल्लाको उपलब्धतामा कमी आएका कारण अण्डाको उत्पादन घटेको हो”, डा. न्यौपानले भने, “गाईभैँसीमा फैलिएको लम्पी स्किनका रोगको प्रकोपका कारण दूध उत्पादनमा कमी आएको हो । यो रोग छिट्टै नियन्त्रणमा आउन नसके यसवर्ष पनि दूध उत्पादनमा असर गर्न सक्छ ।” उक्त रोग नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र किसान आफैले पनि खोप अभियान सञ्चालन गरिरहेका छन् । उक्त रोगको सङ्क्रमणका कारण गण्डकी प्रदेशमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तु मरेका छन् भने ३१ हजार ३०५ निको भएका छन् । ३८ हजार ५३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।
गत आवमा अफ्रिकन स्वाइन फ्लुका कारण ठूलो सङ्ख्यामा बङ्गुर मरेका कारण पनि मासुजन्य उत्पादनमा ह्रास आएको डा न्यौपानले बताए । “गत आवमा १८ हजार २० बङ्गुर मर्दा झण्डै २४ करोडको क्षति भएको हाम्रो अनुमान छ”, उनले भने, “अहिले अफ्रिकन स्वाइल फ्लु नियन्त्रणमा आइसकेको छ ।” उक्त रोगबाट प्रदेशभित्र २२ हजार ६६ बङ्गुर सङ्क्रित भएका थिए ।
संयक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा भने गण्डकी प्रदेश पशुजन्य उत्पादनमा आत्मनिर्भर बनेको छ । मापदण्डअनुसार एक व्यक्तिलाई प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा आव २०७८/७९ मा एक सय १७ र गत आवमा ११० लिटर दूध उपलब्ध भएको पाइएको छ ।
एक वर्षमा एक व्यक्तिलाई न्यूनतम १४ किलो मासु चाहिनेमा आव २०७८/७९ मा २६ किलो र गत आवमा २४ किलो उपलब्ध भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । वर्षमा एक व्यक्तिलाई न्यूनतम ४८ गोटा अण्डा आवश्यकता पर्नेमा आव २०७८/७९ मा १४३ र गत आवमा १०१ गोटा अण्डा उपलब्ध भएको भएको देखिन्छ ।
वर्षमा एक व्यक्तिलाई १५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुनसकेको छैन । मासु २० किलो र अण्डा ६० गोटा पुर्याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ । -रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया