विद्युत व्यापारमा नेपाललाई ९ अर्ब घाटा

0
Shares

विद्युत व्यापारमा नेपालले एक वर्षमा ८ अर्ब ९९ करोड रुपैयाँ घाटा व्यहोरेको छ । नेपालले गत आर्थिक वर्ष २०७९/८० मा भारतसँगको विद्युत व्यापारमा ८ अर्ब ९९ करोड रूपैयाँको घाटा व्यहारेको हो ।

गत आर्थिक वर्षमा नेपालले भारतबाट १९ अर्ब ४४ करोड रूपैयाँको बिद्युत किन्दा १० अर्ब ४५ करोड रूपैयाँको बिक्री गरेको छ ।

नेपालमा बर्खामा मात्र पर्याप्त विद्युत उत्पादन हुने भएकोले हिँउदको समयमा भारतबाट १९ अर्ब ४४ अर्बको विद्युत आयात गरिएको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आव २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो ।अघिल्लो आर्थिक वर्षको तुलनामा प्राधिकरणको नाफा १ अर्ब ४ करोडले घटेको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बिक्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ४५ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ ।

नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरू गरेको हो। हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।

भारत निर्यातको लागि करिब ६०० मेगावाट थप आयोजनाहरू भारतको विद्युत मन्त्रालयमा सहमतिको प्रकृयामा रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

हालसम्म प्रणालीको जडित क्षमता कुल २ हजार ८२२ मेगावाट पुगेको छ भने आ.व.२०७८।७९ र २०७९।८० (आव २०८०।८१ श्रावण २४ गतेसम्म) मा क्रमशः ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा १ हजार ३८३ मेगावाटका जलविद्युत तथा सौर्य आयोजनाहरुबाट उत्पादन सुरु भएको छ।

हालसम्म करिव ८०५२ मेगावाट विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएकोमा गत दुई वर्षमा मात्र करिव १७७४ मेगावाटको विद्युत खरिद बिक्री सम्पन्न भएको छ। यसको अलावा प्राधिकरणले करिव ८ हजार ५२ मेगावाटको मस्यौदा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ । कुल २१६९ मेगावाट विद्युत खरिद बिक्री सम्झौताको मस्यौदा तयारी गर्ने प्रकृयामा रहेका छन्।

यस्तै नेपालले जम्मा १० जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ४५२ मेगावाटको विद्युत भारत निर्यात गरिरहेको छ । भारत निर्यातको लागि करिव ६०० मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा पठाइएको छ । उक्त प्रस्ताव भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रक्रियामा छ ।

नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरू गरेको हो । विहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी. प्रसारण लाइनहरुबाट विहारको ग्रीड हुँदै भारतको केन्द्रीय ग्रीड प्रणालीबाट करिव ३०० मेगावाट विद्युत बिक्री गर्न पि.टि.सि. इन्डिया, विहार स्टेट पावर कर्पोरेशन र प्राधिकरण बीच त्रिपक्षीय सहमति भएको छ।

यस्तै विद्युत प्राधिकरणले नेपाल–भारत बैठक मार्फत भारतको उत्तर प्रदेश रउत्तराखण्डसँग जोडिने गरी थप प्रसारण लाइनहरु प्रस्ताव गरेको कार्यकारी निर्देशन कुलमान घिसिङले बताए । सो सम्बन्धमा अध्ययन एवं निर्माण कार्य समेत अघि बढाइएको उनको भनाइ छ ।

यता भारतको हरियाना राज्यलाई विद्युत सप्लाई गर्ने गरी भारतीय विद्युत व्यापार कम्पनी एनभिभिएनसँग ५ वर्षको लागि २०० मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता सम्पन्न भएको छ । सहमतिको लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको निर्देशक घिसिङले बताए ।

उता भारतको टनकपुर सवस्टेशनमा जडान गरिएको ५० एमभिए, २२०/१३२ के.भी. क्षमताको पावर ट्रान्सफरमरलाई प्राधिकरणकै खर्चमा क्षमता अभिबृद्धि गरी १०० एमभिए बनाइएको छ । यसबाट प्राधिकरणले लाभ लिइरहेको छ ।

भारतसँग जोडिएको प्राशारण लाइन कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ के.भी. प्रसारण लाइनहरुमा दोश्रो सर्किट थप गरी विद्युतको भरपर्दोपन र प्रसारण क्षमता बृद्धि गराइएको छ।

नेपालमा हाल पाँच हजार ७४२ सर्किट किमीको प्रसारण लाइन र ८ हजार ८६७ एमभिए क्षमताका सवस्टेशनहरु सञ्चालनमा रहेका छन् । दुई बर्षमा ४००/२२०/३३२ गरी करिव ९ सय सर्किट कि.मी. प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै ९३ सय सर्किट किमि निर्माणाधीन छ रहेको प्राधिकरणले जनाएको छ ।

यता करिव २५ सय एम.भि.ए. क्षमताका १७ वटा सवस्टेशन निर्माण सम्पन्न भएका छन् भने १० हजार ५ सय एम.भि.ए. क्षमताका ५४ वटा सवस्टेशन निर्माणाधीन रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।