साइबर अपराधबारे जनतालाई शतर्क बनाउन डिजिटल साक्षरता कार्यक्रम

0
Shares

इन्टरनेट तथा प्रविधिको तीव्र विकाससँगै पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन ठगी गर्ने, लुट्ने, ब्लाकमेल गर्ने जस्ता अनैतिक क्रियाकलापहरु बढ्दै गएका छन् ।

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० मार्फत यस्ता गतिविधिलाई नियन्त्रण गर्न र आम मानिसलाई साइबर अपराधबारे जानकारी गराउन डिजिटल साक्षरता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

विशेषतः ग्रामीण भेगका अधिकांश मानिसहरुले प्रविधिको उचित प्रयोग गर्न नजान्दा उनीहरुले अनलाइन ठगीको समस्या भोग्दै आएका छन् । यस्तै बैंकिङ प्रणाली डिजिटलाइज भएसँगै अनलाइन बैंकिङ ठगी गर्नेहरुको सङ्ख्या समेत बढ्दै गएको छ ।

त्यति मात्रै नभई सामाजिक सञ्जाल ह्याक गर्ने र अश्लिल तस्वीरहरु सेयर गर्ने, सामाजिक सञ्जाल मार्फत प्रयोगकर्ताका आफन्तहरुसँग पैसा सापटी माग्ने, बैंक तथा वित्तीय संस्थाबाट सम्पर्क गरेको भनी ओटिपी माग्ने लगायतका अपराध पछिल्लो समयमा बढ्दै गएका छन् ।

सरकारले यी यावत् समस्या समाधानका लागि डिजिटल साक्षरता कार्यक्रम सञ्चालनमा ल्याउने रणनीति बनाएको छ । यस्तै सुरक्षित र उत्थानशील साइबर स्पेस बनाउन आवश्यक कानून एवम् मापदण्ड तर्जुमा गर्ने, सूचना एवं सञ्चार प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण गर्ने र रहिआएको संरचना सुदृढ बनाउने रणनीति सरकारले राष्ट्रिय साइबर नीतिमा अगाडि सारेको छ ।

नेपालमा साइबर सुरक्षाको बलियो संयन्त्र नभएका कारण विभिन्न समयमा सरकारी कार्यालयहरुको सिस्टम नै ह्याक हुने गरेको छ । यी समस्या समाधानका लागि नेपालमा दक्ष जनशक्तिको खाँचो रहेको छ । सरकार साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न, साइबर अपराधसम्बन्धी अनुसन्धान गर्न तत्पर देखिएको छ।

यस्तै साइबर सुरक्षा सम्बन्धी जनचेतना फैलाउन र आवश्यक पूर्वाधार विकासका लागि सरकारले सार्वजनिक निकाय, निजी क्षेत्र र नागरिक समाज, अन्तराष्ट्रिय संघसंस्था तथा अन्य मुलुकसँग समन्वय एवं सहकार्य गर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।