अमेरिकामा सम्पत्ति शुद्धीकरणको समस्या चर्किँदै, नयाँ नीति ल्याउने तयारीमा वाणिज्य विभाग


अमेरिकामा रियल स्टेट क्षेत्रमा नगद कारोबार बढ्दै गएपछि सम्पत्ति शुद्धीकरणको समस्या चर्किएको छ । यस्तो समस्या बढ्दै गएपछि अमेरिकालाई अवैधानिक सम्पतिलाई शुद्धीकरण गर्ने चुनौती पनि उत्तिकै थपिएको छ । अबैध सम्पत्तीलाई वैध बनाउन घरजग्गा कारोबारलाई अस्त्र बनाइएपछि अमेरिकाले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ ।

विशेषगरी विलासी घर तथा सम्पत्ति नगद (क्यास) मा खरिद गर्ने र पछि सो सम्पत्तिलाई वैधानिक बनाउने जस्ता गतिविधि बढ्दै गएपछि त्यहाँको वाणिज्य विभागको ध्यान यस विषयमा केन्द्रीत भएको छ । वाणिज्य विभाग प्रमुख जेनेट एलेनले रियल स्टेट क्षेत्रलाई भ्रष्ट तथा अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरुले सम्पत्ति शुद्धीकरणको भाँडो बनाउँदै आएको बताएकी छिन् ।

एक अनुसन्धान संस्था–ग्लोबल फाइनान्सीयल इन्टीग्रीटिले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१५ देखि २०२० सम्मको ५ वर्षको अवधिमा अमेरिकामा २ अर्ब ३० करोड डलर बराबरको अवैधानिक सम्पत्ति शुद्धीकरण भएको छ । कानुन विपरितका क्रियाकलाप मार्फत आर्जन भएको त्यस्तो सम्पत्तिलाई धनाढ्य तथा अपराधिक पृष्ठभूमी भएका मानिसहरुले अमेरिकाका विभिन्न सहरहरुमा विलासी घरजग्गा किनेर सम्पत्ति शुद्धीकरण गरिरहेका छन् । भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न अधिवक्ता तथा नीति निर्माताहरुले यो तथ्यलाई समय समयमा उठाउँदै आएका छन् ।

लामो समयपछि वाणिज्य विभागले गैरकानुनी क्रियाकलापको रोकथामका लागि नयाँ नीति नियम अघि सार्ने भएको छ । वाणिज्य विभागले नगदमा सम्पत्ति खरिद गर्ने मानिसहरुको विवरण विभागको फाइनान्सीयल क्राइम इन्फर्मेसन नेटवर्कमा अनिवार्य रुपमा जानकारी गराउन रियल स्टेट कम्पनीहरुलाई आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरणको समस्या नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा मात्र नभई अमेरिकामा जस्तो विकसीत राष्ट्रमा पनि बढ्दो अवस्थामा रहेको छ । अवैधानिक च्यानलहरुबाट आर्जन गरेको सम्पत्तिलाई शुद्धीकरण गरी वैधानिक बनाउन मानिसहरुले नगदमै घर जग्गा खरिद बिक्री गर्ने तथा क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका छन् ।

पछिल्लो समयमा नेपालमा पनि नगद मार्फत घर, जग्गाको खरिद बिक्रीमा सरकारले कडाई गर्दै आएको छ । यद्यपी यसको पूर्ण रुपमा पालना हुन सकिरहेको छैन । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा नै सम्पत्ति शुद्धीकरणको समस्या बढ्दै जाँदा विभिन्न देशहरुले एकजुट भएर यसको विरुद्ध अभियान चलाउँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।