अलमलमा लगानीकर्ता, दोहोरो अंकले बढेको बजारमा अढाई अर्बको कारोबार


उतार चढावका बीच २००० अंकको आसपासमा रहेको बजार आइतबार दोहोरो अंकले बढेको छ । अर्थतन्त्रका विविध पक्षका विषयका साथै बैंकिङ प्रणाली सहज अवस्थामा नरहेका बेला लगानीकर्ता बजारमा अपेक्षित रुपमा सक्रिय हुन सकिरहेका छैनन् । जसका कारण बजार केही बढ्ने र केही दिन घट्ने हुँदा २००० र २१०० विन्दुको बीचमा अडिएको हो ।

आइतबार अलग अलग समुहका कम्पनीको सेयर मूल्यमा आएको सुधारले समग्र बजार परिसुचक नेप्से १४.८१ अंकले बढेको छ । योसँगै बजार नेप्से २०८०.८६ अंकमा उक्लिएको छ । आइतबार २७१ कम्पनीका ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ९५ हजार ९६५ पटक किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजार कित्ता ५१२ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा भएको यो कारोबार रकमबाट नेपाल इन्स्योरेन्सको संस्थापक सेयर हस्तान्तरणको ५८ करोड ४५ लाख ६१ हजार रुपैयाँलाई अलग गर्दा आइतबारको कुल कारोबार रकम २ अर्ब ४१ करोड हाराहारी मात्र हुन आउँछ ।

कारोबारमा आएका सबै कम्पनी मध्ये औषतमा सेयरमूल्य घट्ने कम्पनीको संख्या धेरै छ भने, बढ्ने कम्पनीको संख्या कम छ । सेयर मूल्य बढ्ने कम्पनीको आकार तथा पुँजीकरण ठुलो भएकाले नेप्से परिसुचक दोहोरो अंकले बढेको हो ।

आइतबारदेखि कारोबारमा आएको थ्री स्टार र अपर स्याङ्गे हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा आइतबारदेखि नै कारोबार खुलेको घोराही सिमेन्टको सेयर मूल्य भने १० प्रतिशतले नै घटेको छ ।

माउण्टेन इनर्जी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, गणपति लघुवित्तको सेयरमूल्य धेरै बढेको बजारमा अभियान लघुवित्त, सिंगटी हाइड्रो, मकर जितुमाया, श्वेतगंगा हाइड्रो लगायत कम्पनीको सेयरमूल्य धेरै घटेको छ ।

म्यानुअल कारोबार भएको नेपाल इन्स्योरेन्सको ५८ करोड ४५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको बजारमा अधिक रकमको सेयर किनबेच हुने कम्पनीमा घोराही सिमेण्ट परेको छ । बजार बन्द हुँदा ५०९ रुपैयाँमा कारोबार भएको कम्पनीको ४ लाख ४६ हजार ६८७ कित्ता सेयर २३ करोड १५ लाख ६८ हजार ३८३ रुपैयाँमा किनबेच भएको छ । २९ हजार ११३ वटा कारोबार सहित घोराही सिमेन्ट कारोबार संख्याका आधारमा पनि पहिलो स्थानमा परेको छ ।

समुहगत आधारमा बजारको सबैभन्दा ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक समुह १३.६१ अंकले बढेसँगै त्यसको सकरात्मक असर नेप्से परिसुचकमा परेको हो । निर्जीवन बीमा कम्पनी समुहमा सर्वाधिक २४१.५७ अंकको सुधार आएको बजारमा होटलमा १०७.५, जीवन बीमामा ५८.१३, विकास बैंकमा २१.३०, जलविद्युतमा १८.५१ अंकको सुधार आएको छ ।
घोराही सिमेण्टको सेयर मूल्यमा आएको भारी गिरावटसँगै उत्पादन समुह १०.३४ अंकले ओरालो लागेको छ भने लघुवित्त १३.५५, वित्त १.३ अंकले घटेको छ ।

ठूला कम्पनीको सेयर मूल्य बढेका कारण यस्ता कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ अंकमा उक्लिएको छ । फ्लोट १.१९ अंकले बढेर १४४.०५ अंकमा पुगेको बजारमा सेन्सेटिभ फ्लोट १.४७ अंकले बढेर १३१.३४ अंकमा पुगेको छ ।

बजारमा आएको सुधार तथा आइतबारदेखि थपिएका घोराही सिमेण्ट, थ्री स्टार र अपर स्याङ्गे कम्पनीको पुँजीकरण समेत गरी समग्र बजार पुँजीकरण ३० खर्ब ९३ अर्ब ८० करोड १९ लाख ४३ हजार ६७० रुपैयाँ कायम भएको छ । गत बिहीबार यस्तो पुँजीकरण ३० खर्ब ६१ अर्ब १९ करोड १२ लाख ५० हजार रुपैयाँ थियो ।

आइतबारदेखि कारोबारमा आएको घोराही सिमेण्टको बजार पुँजीकरण २० अर्ब २१ करोड ६९ लाख ७४ हजार रुपैयाँ, थ्री स्टार हाइड्रोको १ अर्ब ३८ करोड १४ लाख ६२ हजार ५०० र अपर स्याङ्गेको ६१ करोड ३५ लाख ८० हजार रुपैयाँ बजार पुँजीकरण छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।