नबिल बैंकको ‘नबिल ढुक्क घर कर्जा’ योजना, कति तिर्नुपर्छ ब्याज ?


नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।

यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।

नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यसलाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले थपिन् ।

बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।

यो योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ । यो घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

नबिल बैंकले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।