चन्द्रागिरी हिल्सको खुद नाफा १५ करोड बढी

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख लगानी रहेको आईएमई ग्रुपबाट प्रर्वद्धित चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षमा १५ करोड ११ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा १ करोड ६८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको होटलमा बाह्य तथा आन्तरिक पर्यटकहरुको आगमन बढेसँगै नाफामा उत्कृष्ट सुधार भएको हो । अघिल्लो वर्षको तुलनामा १३ करोड ४३ लाखले नाफावृद्धि भएको देखिन्छ ।

काठमाण्डौंको चन्द्रागिरीमा अवस्थित होटल तथा त्यहाँ रहेको भालेश्वरको मन्दिर दर्शन गर्न र टिकटक बनाउने क्रेज यूवाहरुमा बढ्दा पनि होटलको आम्दानीमा वृद्धि भएको हो । होटल, केवलकार, जिपलाइन जस्ता खेल र बालबालिकाहरुका लागि उद्यान समेत रहेको छ । यस्तै काठमाण्डौंको उपत्यकाको रमणिय स्थानको दृश्याअवलोकन गर्न समेत पाइने नजिकको दूरीमा रहँदा त्यसको सकारात्मक असर होटलमा परेको हो ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६६ करोड ८९ लाख ९८ हजार थियो । त्यसैगरी होटलको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा छ । अघिल्लो आवको तुलनामा नाफा बढेसँगै ८ रुपैयाँ ७५ पैसाले इपीएस बढेको हो । जगेडा कोष २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहँदा प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा १५ रुपैयाँ कम अर्थात ८४ रुपैयाँ ७२ पैसा छ । असार मसान्तसम्ममा मूल्य आम्दानी अनुपात २४६.६३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।