अप्पर तामाकोशी पौने ४ अर्ब घाटामा, वित्तीय खर्च र ह्रासकट्टीले नोक्सानी बढ्यो

0
Shares

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । वित्तीय खर्चमा भएको उच्च वृद्धिले कम्पनीको नोक्सानी गत आवको तुलनामा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ थियो ।

यस्तै कोभिड महामारीको असर तथा ठेकेदार कम्पनीहरुले समयमा नै कायम नगर्दा आयोजना समयमा निर्माण सम्पन्न नहुँदा आयोजनाको लागत वृद्धि भएकोले ह्रासकट्टि खर्च तथा ब्याज खर्च अत्याधिक वृद्धि भएको कम्पनीले जनाएको छ । ह्रासकट्टी खर्च तथा ब्याज खर्चको अनुपातमा विद्युत उत्पादन बढ्न नसकेकोले र बजारमा ब्याजदर घट्न नसकेको हुँदा गत आर्थिक वर्षका साथै आउँदो केही आर्थिक वर्षहरुमा समेत कम्पनीको नाफामा असर गर्ने अवस्था देखिएको कम्पनीले स्पष्ट पारेको छ ।

ब्याज सहित ५० अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न हुँदा ९० अर्ब हाराहारी पुगेपछि कम्पनीको खर्च बढ्दो क्रममा देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट ८ अर्ब १२ करोड ८० लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७ अर्ब ११ करोड ६७ लाख ८४ रुपैयाँ कमाएकोमा समीक्षा अवधिमा १४.२१ प्रतिशतले बढेको हो । कम्पनीले २०७८ भदौ २५ गतेदेखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन थालेको थियो ।

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको नोक्सानी बढेसँगै प्रति सेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक बनेको छ । अघिल्लो आवमा रुपैयाँ रहेको थियो । असारसम्म कम्पनीको रिटेन्ड अर्निङ्ग ६ अर्ब ९१ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसले कम्पनीको प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा ६५ रुपैयाँ धेरै घटेर ३४ रुपैयाँ ६७ पैसामा सीमित बनेको छ ।

कम्पनीको वित्तीय खर्च अघिल्लो आवको तुलनामा २८ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड २१ लाख पुगेको हो । खुद नोक्सानी बढ्न वित्तीय खर्च प्रमुख रहेपनि वित्तीय आम्दानी घट्नु, ह्रासकट्टी, प्रशासनिक तथा आयोजना सञ्चालन खर्च, रोयल्टी रकममा भएको वृद्धि पनि आंशिक कारण देखिएका छन् ।

गत आवमा कम्पनीको ह्रासकट्टी वापतको खर्च अघिल्लो आवमा २ अर्ब ९९ करोड ३९ लाख रहेकोमा बढेर ३ अर्ब ५८ करोड ६४ लाख पुगेको छ । यस्तै प्रशासनिक तथा आयोजना सञ्चालन खर्च ४४ करोड २ लाखबाट बढेर ७३ करोड ८६ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै रोयल्टीमा २० करोड ३२ लाख, वैदेशिक मुद्रा सटहीमा २ करोड ९२ लाख लाख खर्च भएको हो । कम्पनीले गत आवमा वित्तीय आम्दानी वापत ३ करोड ३१ लाख, अन्य आम्दानी २ करोड ४५ लाख रुपैयाँ छ ।

दोलखा जिल्लाको लामाबगरमा सञ्चालित ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको उक्त आयोजनाले नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानी गर्नका लागि १५ वर्षे योजना अन्तरगत ३० वटा किस्ता वापत भुक्तानी गर्ने तालिका बनाएको छ । चैत मसान्तसम्ममा सरकारको दुई तथा अन्य संस्थाहरुको ५ कित्ता साँवाँ तथा ब्याज भुक्तानी गरेको कम्पनीले जनाएको छ । जसका कारण कम्पनीको वित्तीय खर्चमा उलेख्य वृद्धि भएको कम्पनीले जनाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।