इन्धनको भाउ बढेसँगै बढ्यो सार्वजनिक यातायातको भाडा


यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय गरेको छ । विभागले भदौ १ गते बिहीबारदेखि लागू हुने गरी अन्तर–प्रदेश यातायातमा भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले नयाँ भाडादर तोकेको हो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरी दत्त पनेरुका अनुसार यात्रुवहाक सवारी साधनको भाडा ४.७ प्रतिशतले बढाउने निर्णय भएको छ । यस्तै पहाडी रुटमा चल्ने मालबाहक सवारी साधनमा ६.१५ प्रतिशत भाडा बढाउने निर्णय भएको छ भने तराईका रुटमा सञ्चालन हुने मालबाहक सवारी साधानमा ६.८३ प्रतिशतले भाडा बढाउने निर्णय भएको छ ।

डिजलको भाउ एकैपटक १४ रुपैयाँ बढ्यो, पेट्रोलमा पनि वृद्धि

इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने हुन्छ । पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशत भन्दा बढि मूल्य वृद्धि भएकोले भाडा वृद्धि गर्ने निर्णय गरेको सूचना अधिकारी पनेरुले बताए ।

नेपाल आयात निगमले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी डिजलको भाउ एकैदिन १४ रुपैयाँ बढाएको छ । यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय आयल निगमले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।